८५ पुग्यो समानुपातिक तर्फ उम्मेदवारी फिर्ता लिनेको संख्या
काठमाडौं,२९ पौष । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फ उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यो संख्या अझै बढ्न सक्ने सम्भावना छ।

‘उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ। अझै केही सेवाग्राही आयोगमै उपस्थित हुनुहुन्छ, त्यसैले यो संख्या थपिन सक्छ,’ भट्टराईले बताए।
राजनीतिक दलहरूले पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए। समावेशी क्लस्टर मिलाउन आयोगले आइतबारसम्मको समय दिएको थियो।
सोमबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन तोकिएको छ। उम्मेदवारी फिर्ता लिन उम्मेदवार स्वयं निर्वाचन आयोगमा उपस्थित हुनुपर्नेछ। आवश्यक परे वारेसमार्फत पनि उम्मेदवारी फिर्ताको निवेदन दिन सकिने व्यवस्था छ।
उम्मेदवारी फिर्ताको निवेदन प्राप्त भएपछि निर्वाचन आयोगले सम्बन्धित दललाई जानकारी गराउनेछ। आयोगबाट जानकारी प्राप्त भएपछि उम्मेदवारी फिर्ता भएको स्थानमा सम्बन्धित दलले नयाँ उम्मेदवार सिफारिस गर्न पाउनेछ।
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गतेका लागि तय गरिएको छ।

