बिशेष महाधिवेशनले भोलि केन्द्रीय समिति भंग गर्ने ,संस्थापनले बोलायो बैठक



काठमाडौँ,२८ पौष। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।मङ्गलबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसमिति बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरुलाई उपस्थित हुन निर्देशन गरिएको छ ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकाे अग्रसरतामा आइतबारदेखि काठमाडाैँकाे भृकुटीमण्डपमा दाेस्राे विशेष महाधिवेशन जारी छ । सो बिशेष महाधिवेशनले मंगलवार निर्वाचन,अनुशासन,केन्द्रिय समिति लगायतका समितिहरु भंग गर्ने
नेता सुवास पोखरेलले बताए । पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षधर नेता पोखरेलले आईतवार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरुको संख्या २ हजार ६ सय ६२ रहेकोमा सोमवार ६.२४ प्रतिशतले बढेको जानकारी दिए । उनले महाधिवेशनमा सहभागी भइ हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुको संख्या सत्तरी प्रतिशत पुर्‍याउने दाबी गरेका छन् ।

उनले भने, ‘हिजो हाम्रो संख्या भन्दा आज ६.२४ प्रतिशतले बढेको छ । हिजो २ हजार ६ सय ६२ थियो । त्यसमा ६.२४ बढ्दा ६३ प्रतिशत भन्दा बढीले हस्ताक्षर गर्नुभएको छ । कोही आउने क्रम जारी छ । संस्थापन हाम्रो विधानले चिन्दैन । पार्टीका नेताहरुलाई आग्रह गर्दछुः ६६ प्रतिशत भन्ने सुनियो, हामी सत्तरी पु-याएर देखाइदिन्छौँ ।

प्रतिक्रिया दिनुहोस्