ओखलढुंगामा आगो लगाएर ७४ वर्षीया बृद्दाको हत्या गर्न खोज्ने एक महिला पक्राउ
काठमाडौं,२८ पौष । ओखलढुंगामा पेट्रोल खन्याएर एक बृद्दाको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

सिद्धिचरण नगरपालिका–११ मिलनचोक निवासी ७४ वर्षीया धर्मलिला देवी राईमाथि गत कार्तिक १० गते उनकै घरमा गएर पेट्रोल खन्याई आगो लगाएको आरोपमा भदैनी नाता पर्ने सोही स्थानकी ३९ वर्षीया बिष्णु राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
घटनापछि फरार रहेकी राईलाई प्रहरीको विशेष टोलीले करिब तीन महिनाको खोजतलासपछि पौष २७ गते सिद्धिचरण नगरपालिका–११ मिलनचोकस्थित उनकै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
पक्राउ परेकी राईविरुद्ध ‘ज्यान मार्ने उद्योग’ सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । ओखलढुंगा जिल्ला अदालतको आदेशअनुसार सोमबार पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आगो लगाउने घटनामा गम्भीर रूपमा घाइते भएकी वृद्धा धर्मलिला देवी राईको हाल ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

