सोलु एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा वीर उदासको दावेदारी
सोलुखुम्बु,२० पौष । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सोलुखुम्बुबाट नेकपा एमालेको तर्फबाट युवा नेता वीर उदास श्रेष्ठले दावेदारी प्रस्तुत गरेका छन् ।

सोलु एमालेले उम्मेदवारी सिफारिसको तयारी गरिरहेका बेला श्रेष्ठले आगामी निर्बाचनमा उम्मेदवारका लागि आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् । पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व, संगठनात्मक अनुभव र निरन्तर सक्रियताको आधारमा आफू उम्मेदवारका लागि योग्य भएको उनको दावी छ ।
नेतृत्वले राजनैतिक दललाई निजी कम्पनीका रूपमा प्रयोग गरेकै कारण कार्यकर्ता राजनीतिप्रति निरुत्साहित हुँदै गएको तर्क गर्दै श्रेष्ठले रुपान्तरण र पुस्तान्तरण नभए अब पुराना दलहरूको अस्तित्व संकटमा पर्ने बताए । दलप्रति युवाको आकर्षण बढाउनका लागि पुस्तान्तरणलाई नारामा सीमित नगरी नेतृत्व हस्तान्तरण,निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता र परिणाममुखी राजनीतिलाई अघि बढाउनुपर्ने उनको भनाई छ ।
अनुभवी नेतृत्वको मार्गदर्शनमा नयाँ पुस्तालाई जिम्मेवारी दिनु नै पार्टी र लोकतन्त्र दुवैको हित हुने बताउँदै उम्मेदवारी दिन आफुलाई पार्टीभित्रका युवाहरुको ठुलो दबाब रहेको बताए ।
अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठ युवा संघ नेपाल हुँदै अहिले जिल्लाको पार्टी राजनीतिमा सक्रिय छन् । उनी जिल्लामा पार्टीको संगठन विस्तार, आन्दोलन र निर्वाचनका विभिन्न मोर्चामा सक्रिय भूमिका निर्वाह गर्दै आएका नेता हुन्।
उम्मेदवार छनौटका लागि सोलु एमालेले भोलिका लागि बिस्तारित बैठक बोलाएको छ । जिल्लाबाट समानुपातिकको सूचीमा जिल्ला अध्यक्ष ड्फकुमार बास्तोलाको नाम समाबेश छ ।

