एमाले नेता एबम् पूर्बमन्त्री गुप्तालाई थुनामा पठाउन बिशेष अदालतको आदेश



काठमाडौं,१६ पुस। पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ ।

बुधबार विशेष अदालतमा उपस्थित भएका उनको बयानपछि थुनछेक बहस भएको थियो । विशेष अदालतले वेबसाइटमा अपडेट गरेको विवरण अनुसार उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश भएको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउनु पर्ने आदेश गरेको हो ।

तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते पूर्वमन्त्री गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यही मुद्दामा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्व मन्त्री रञ्जिता श्रेष्ठ समेत मुछिएकी थिइन् ।

दुई जनाबिचको अडिओ बाहिरिएपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्