कुलुङ समुदायको महान् चाड चाक्चाकुर सुरु
सोलुखुम्बु,१५ पौष । कुलुङ जातिहरूको महान् चाड मिनारी दाचाम लो निङदोङ (चाक्चाकुर) यलेदोङ ५०८६ आजबाट सुरु भएको छ । प्रत्येक वर्षको पुस १५ देखि सुरु हुने यो पर्बलाई कुलुङ समुदायले पुस १५ देखि ३ दिनसम्म भव्य रूपमा मनाउने गर्छन्।

जिल्लाको महाकुलुङ गाउँपालिकामा कुलुङ समुदायको बाहुल्यता रहेको छ । चाक्चाकुरमा सबै गाउँभरीका मानिस भेला भएर नाचगान, मनोरञ्जनात्मक कार्यक्रम,विभिन्न किसिमका खेल खेलेर रमाइलो गर्दै मनाउने गरिन्छ। कुलुङ समुदायमा यसको महत्व अति विशिष्ट रहेको गाउँपालिका अध्यक्ष सुर्य कुलुङले जानकारी दिए ।कुलुङ जातिले पुस १५ लाई नयाँ वर्ष, पुस १६ लाई नयाँ अन्न खाने दिन र पुस १७ लाई कुलुङ सघंको स्थापनाका रूपमा मिनारी दाचाम लो निङदोङ चाकचाकुर भनेर मनाइने उनको भनाई छ ।
कुलुङ भाषामा मिनाको अर्थ मान्छे र मिनारीको अर्थ मान्छेको पाखुरीले हुन्छ। दाचामको अर्थ भण्डार वा ढुकुटी हो भने निङदोङले नयाँ वर्ष र चाक्चाकुरले चासुम् अर्थात अन्नको सह तथा पुस महिनालाई जनाउँछ। मानव पाखुरीको बलबाट फलेर भण्डारण गरिएको अन्नको नयाँ वर्षमा सह होस् र नयाँ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई नयाँ यामको प्रारम्भमा पूज्नु नै मिनारी दाचाम निङदोङ चाक्चाकुर हो।
औपचारिक रूपमा देशभर चाक्चाकुर पर्वलाई मनाउने सुरुवात नेपाल किरात कुलुङ भाषामा संस्कृति उत्थान संघ,केन्द्रीय कार्यसमितिको पहलमा २०६२ बाट थालिएको कुलुङसंघले दाबी गर्दै आएको छ। कुलुङ जातिको बसोबास भएका जिल्लाहरु सोलुखुम्बु, भोजपुर, संखुवासभा,इलाम,धनकुटा,लगायतका जिल्लामा मिनारी दाचाम निङदोङ चाक्चाकुर मनाइन्छ। त्यस्तै भारतको सिक्किम,पश्चिम बंगाल लगायतका राज्यमा पनि चाक्चाकुर मनाउने गरिएको छ।

