कुलमान,रवि र बालेनलाई ‘देश बेचुवा’ भन्दै हर्कले दिए एमसीसीको बिरोध गरेर देखाउन चुनौती



काठमाडौं,१४ पौष । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरका मेयर हर्क साम्पाङले कुलमान,रवि र बालेन तीनै जना ‘देश बेचुवा’ भएको भन्दै एमसीसीको विरोध गरेर देखाउन चुनौती दिएका छन्।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत शृंखलाबद्ध टिप्पणी गर्दै साम्पाङले उनीहरू तिनै जना एमसीसी पक्षधर भएको आरोप लगाउँदै लेखेका छन्-‘कुलमान,रवि र बालेन यी तिनै जना एमसीसी पक्षधर हुन् ! नभए लु एमसीसीको विरोध गरेर देखाऊन् त ! देश बेचुवाहरू !’

बालेनले जुनसुकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिए पनि आफ्नो पार्टीले हराउने चेतावनी समेत दिएका छन् ।‘बालेनलाई चुनावमा हराउनेछौं। जहाँबाट उम्मेदवारी दिन्छन्,त्यहीँ हामी हराउनेछौं,’साम्पाङले लेखेका छन्।

मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्नबाट संघीय निर्वाचन लड्ने तयारी गरे पनि कुन क्षेत्रबाट उठ्ने भन्ने टुंगो लागिसकेको छैन।

साम्पाङले यसपटक ठुला दलका नेतादेखि नयाँ भनिएकाहरूसम्मलाई जनताले हराउने जिकिर गरेका छन्। ‘यसपालि हामी सबैलाई जित्नेछौँ ! नेपाली जनताले जित्नेछ ! माटोले जित्नेछ !,’ उनले भनेका छन्, ‘केपी ओली, बालेनदेखि रवि सबैलाई नेपाली जनताले जित्नेछन्।’

उनले देशलाई माया गर्नेहरूलाई श्रम संस्कृति पार्टीमा खुलेर लाग्न र माटो चिह्नमा भोट हाल्न आग्रह गर्दै विदेशी दलाली गरेर देशमाथि गद्दारी गर्ने र देश गुमेपछि थाहा पाउने लेन्डुपहरूको भोट आफूलाई नचाहिने भन्दै आक्रोश पोखे।

प्रतिक्रिया दिनुहोस्