कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै



काठमाडौं,११ पौष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा धारणा राख्न बाँकी कार्यसम्पादन समिति सदस्यहरूले बोल्नेछन् ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्नो धारणा राखेका थिए ।

बिहीबार कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री शर्माले अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताएका थिए । महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा यसपटक चुनाव नलड्ने घोषणा गरेका थिए ।

सोही बैठकमा अर्का महामन्त्री गगन थापाले पनि पार्टीको नेतृत्व परिवर्तन नभए आगामी चुनाव नलड्ने घोषणा गरेका थिए ।

“आसन्न प्रतिनिधिसभा चुनावअघि नेपाली कांग्रेसको नेतृत्व परिवर्तन अनिवार्य छ । नेतृत्व परिवर्तन नगरी चुनावमा जान सम्भव छैन,” महामन्त्री थापाको भानाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, “नेतृत्व परिवर्तन नगरिकन चुनावमा जाने हो भने तपाईंहरू जो-जो लड्ने हो चुनाव लड्नुहोस् । मचाहिँ चुनाव लड्दिनँ ।”

प्रतिक्रिया दिनुहोस्