५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउन बिप्लवको माग



काठमाडाैँ,१० पौष । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्र विक्रम चन्दले नेपालबाट ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।

नोटबन्दी लगायत विभिन्न १३ बुँदे माग राखेर बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका बिप्लवले बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै कालो धनलाई जनताको बिचमा स्वीकृत हुनेगरी ल्याउन ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन्।

उनले त्यसको सट्टामा नयाँ नयाँ नोट दुई सय, ४ सय र दुई हजार रुपैयाँका नोटहरु प्रचलनमा ल्याउन सकिने उनको भनाइ छ ।

उनले भने, ‘हाम्रा मुख्य चार वटा प्रस्तावहरु छन्, सर्वपक्षिय सरकार बन्नुपर्छ, भ्रष्टाचारसम्बन्धी उच्चस्तरीय छानवीन आयोग बन्नुपर्छ, उच्चस्तरीय न्यायलय बन्नुपर्छ । त्यो न्यायलयबाट सर्वोच्चमा पुनरावेदन गर्ने स्थिति बन्नुहुँदैन । अन्तिम फैसला नै त्यही गर्नुपर्छ । भ्रष्टाचारीहरुको सम्पती राष्ट्रियकरण गरेर तिनिहरुलाई हदैसम्मको जन्मकैदसम्मको फैसला हुनुपर्छ । त्यो चाहीँ दोस्रो कुरा हो तर एउटा निष्पक्ष ढंगले छानविन गर्ने आयोग बन्नुपर्छ । त्यसपछि नोटबन्दीको कुरा पनि छ । कालो धनलाई यदी सेतो बनाउने हो, जनताको बीचमा स्वीकृत हुनेगरी ल्याउने हो भने ५ सय र १ हजाको नोटमा चाहीँ नोटबन्दी गर्नुपर्छ, खारेज गर्नुपर्छ र नयाँ नोट दुई सय, ४ सय रुपैयाँको नोटहरु पनि प्रचलनमा ल्याउन सक्नुपर्छ भन्ने हाम्रो कुरा छ । दुई हजारको पनि होला ।’

प्रतिक्रिया दिनुहोस्