निर्वाचनको विषयमा शंका नगर्न दलहरूलाई गृहमन्त्री अर्यालको आग्रह



सुर्खेत,९ पौष । गृहमन्त्री ओम प्रकाश अर्यालले फागुन २१ मा हुने निर्वाचनको विषयमा शंका नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् ।

राष्ट्रिय सुरक्षामा कुनै पनि प्रकारको संकट आउन नदिन सरकार निरन्तर सक्रिय रहेको भन्दै आगामी फागुन २१ गते हुने निर्वाचनबारे कुनै शंका नगर्न उनले आग्रह गरे । उनले केही साना चुनौती देखिए पनि निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने दाबी गरे ।

मन्त्री अर्यालले सबै राजनीतिक दलहरूलाई निर्वाचनलक्षित गरी आआफ्नो आन्तरिक तयारीमा लाग्न पनि आग्रह गरे ।

उनले वर्तमान अन्तरिम सरकार जेनजी आन्दोलनको जगमा बनेको स्पष्ट पार्दै सरकारको मुख्य जिम्मेवारी देशको अवस्था सामान्यीकरण गर्दै विधिको शासन पुनःस्थापना गर्नु रहेको बताए ।

उनले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराई शासकीय जिम्मेवारी निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु नै सरकारको प्रमुख कार्यभार भएको प्रष्ट पारे । जेनजी आन्दोलनको समयमा राष्ट्रिय सुरक्षा अवस्था गम्भीर संकटमा पुगेको स्मरण गर्दै गृहमन्त्री अर्यालले नेपाली सेनालाई समेत सडकमा उतार्नुपर्ने अवस्था आएको बताए ।

“देशमा उत्पन्न संकटलाई वैधानिक र संवैधानिक तरिकाले समाधान गर्नकै लागि अन्तरिम सरकार गठन गरिएको हो,” गृहमन्त्री अर्याल भने, “देशमा पुनः द्वन्द्व नदोहोरियोस् र स्थिति सामान्य रहोस् भन्ने उद्देश्यले सरकारले विधिको शासन र सुशासन कायम गर्न विशेष ध्यान दिइरहेको छ ।”

सुशासन दिन नसके फेरि विद्रोहको सम्भावना रहन्छ भन्नेमा सरकार पूर्ण सचेत रहेको भन्दै गृहमन्त्री अर्यालले बताए । पछिल्लो समय राजनीतिक दलहरूले पनि नयाँ पुस्तालाई अवसर दिन थालेको उल्लेख गर्दै उनले जेनजी पुस्तालाई मूलधारको राजनीतिमा ल्याउनु सरकारको उद्देश्य रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्