सोलु दुधकुण्डको टाप्टिङमा वडा कार्यालयको नयाँ प्रशासनिक भवन उद्घाटन
सोलुखुम्बु,४ पौष । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टिङमा निर्माण सम्पन्न भएको वडा कार्यालयको नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ । वडा कार्यालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले नव निर्मित सो भवनको उद्घाटन गरेका हुना।

जिल्ला समन्वय समिति सोलुखुम्बु र सोलुदुधकुण्ड नगरपालिकाबाट विनियोजित रकमबाट निर्माण गरिएको भवनको उद्घाटन गर्दै निरौलाले स्थानीय तहको प्रशासनिक सेवा प्रभावकारी बनाउन भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने बताएका थिए । विकास निर्माणका सबै कार्यमा पारदर्शिता,गुणस्तर र समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिंदै उनले आधुनिक,सुविधासम्पन्न र नागरिकमैत्री भवन निर्माणले सेवाग्राहीलाई सहज र छरितो सेवा प्रवाह गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएको बताउंदै नयाँ वडा भवनले वडास्तरका सेवा अझ प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरे। नगर प्रमुख शेर्पाले नगरपालिकाले नागरिकको आवश्यकता र प्राथमिकताका आधारमा पूर्वाधार विकासलाई निरन्तरता दिइरहेको बताउँदै आगामी दिनमा पनि वडा–वडामा यस्ता संरचना निर्माणलाई प्राथमिकता दिइने जानकारी दिए।
नगर उपप्रमुख गान्धी माया तामाङ वडा नं. १० का वडाध्यक्ष होम बहादुर मगर,वडा सचिव रामहरी चौलागाइ लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा ग्रीनतारा कन्स्ट्रक्सन कम्पनि प्रा. लि.ले भ्याटसहित १ करोड १४ लाख ३० हजार ७ सय ५६ रुपैयाँ ८६ रुपैयाँमा सो भवन निर्माण सम्पन्न गरेको जानकारी गराईएको थियो । गत जेठमा निर्माण सम्पन्न भएको सो भवन निर्माणका लागि
२०८१ साल साउन १९ गते ठेक्का सम्झौता भएको बताईएको छ।

