एमाले नेतृत्व चयनका लागि आज मतदान ८० वटा विद्युतीय मेसिनबाट हुँदै



काठमाडौं,२९ मंसिर । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको रस्साकस्सी अब निर्णायक मोडमा पुगेको छ । भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा आमने-सामने भएसँगै आज (मंगलबार) मतदान हुँदैछ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार भृकुटीमण्डपस्थित महाधिवेशन बन्दसत्र स्थलमा दिउँसो १ बजेबाट मतदान प्रक्रिया सुरु हुनेछ । मतदानको समय साँझ ७ बजेसम्मका लागि निर्धारण गरिएको छ । सर्वसम्मतिको प्रयासका बाबजुद अध्यक्ष पदमा ओली र पोखरेलले आ-आफ्नो गुटसहित उम्मेदवारी दिएपछि एमालेको यो महाधिवेशन थप पेचिलो र रोचक बनेको हो ।

पार्टीको यो महाकुम्भलाई व्यवस्थित र छरितो बनाउन निर्वाचन आयोगले यसपटक विद्युतीय भोटिङ मेसिन (इभिएम) को प्रयोग गर्ने भएको छ । आयोगका अध्यक्ष डा. विजय सुब्बाले दिएको जानकारीअनुसार मतदानस्थलमा ८० वटा विद्युतीय मेसिन जडान गरिएका छन् ।

महाधिवेशनमा देशभरबाट छानिएर आएका कुल दुई हजार २६३ प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । विद्युतीय विधि अपनाइए पनि ठूलो सङ्ख्यामा उम्मेदवार रहेका कारण एक जना मतदातालाई मतदान प्रक्रिया पूरा गर्न करिब २५ देखि ३० मिनेट लाग्ने अनुमान आयोगले गरेको छ ।

अध्यक्षमा मात्र होइन, एमालेको पदाधिकारी चयनमा पनि यसपटक ‘हेभीवेट’ नेताहरूबीच कडा टक्कर देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारहरूको प्रारम्भिक नामावलीअनुसार महासचिव पदमा प्रभावशाली नेताहरू शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच सीधा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, विधानअनुसार ५ सिट रहेको उपाध्यक्ष पदका लागि ११ जना नेताहरू चुनावी रेसमा छन् । जसमा वर्तमान उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’ देखि अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त र डा. विन्दा पाण्डेसम्मले उम्मेदवारी दर्ता गराएका छन् ।

तीन जना उपमहासचिव पदका लागि योगेश भट्टराई, विष्णुप्रसाद रिमाल, रघुवीर महासेठ, आनन्दप्रसाद पोखरेल, राजेन्द्रप्रसाद गौतम र लेखराज भट्ट गरी ६ जनाको उम्मेदवारी परेको छ । उता, ९ जना सचिव पदका लागि २० जना नेताहरूले दाबी प्रस्तुत गरेका छन् भने भूगोल र क्लस्टर मिलाएर चयन गरिने केन्द्रीय सदस्य पदमा एक हजारभन्दा बढीको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्