एकढिक्का भएर अघि बढ्ने सोलु कांग्रेसका नेताहरुको प्रण,कार्यकर्ता उत्साहित
सोलुखुम्बु,२९ मंसिर । लामो समयदेखि गुटगत राजनीतिका कारण संगठनात्मक क्षति ब्यहोर्दै आएको नेपाली कांग्रेस सोलुखुम्बुले आगामी दिनमा एक भएर अघि बढ्ने संकल्प गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्बाचन र माघमा हुने राष्ट्रिय सभा निर्बाचनका लागि उम्मेदवार सिफारिससंगै १५ औं राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न गत बिहिबारबाट सुरु जिल्ला कार्यसमिति बैठकका क्रममा आइतबार सभापति नाम्गेल जाङ्बु शेर्पासहित अन्य चार पदाधिकारीले संयुक्त रूपमा बिज्ञप्ति जारी गर्दै आन्तरिक मत मतान्तरलाई बिर्सिएर सद्भाव र एकताबद्ध ढंगले अगाडी बढ्ने संकल्प गरेपछि सोलु कांग्रेसका कार्यकर्ता उत्साहित भएका छन् ।
सोलु कांग्रेस लामो समयदेखि पूर्बमन्त्री बलबहादुर केसी र अर्का नेता आङगेलु शेर्पा गुटमा बिभाजित हुँदै आएको छ । हाल केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेत रहेका केसी र केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुखको जिम्मेवारीमा रहेका शेर्पाकै उपस्थितिमा सो संयुक्त बिज्ञप्ति जारी गरिएको बताईएको छ। बिज्ञप्तिमा सभापति शेर्पा,उपसभापति घनराज सुनुवार,सचिवद्वय युवराज घिमिरे र भलाकाजी राईले हस्ताक्षर गरेका छन्।उनीहरू पनि केसी र शेर्पा गुटमा बिभक्त हुँदै आएका नेता हुन्।
जिल्लाभित्र देखिएको आन्तरिक विभाजनले चुनावी परिणामदेखि संगठन विस्तारसम्म निरन्तर नकारात्मक असर पार्दै आएको यथार्थ घाम जत्तिकै छर्लङ्ग छ । केसी र शेर्पा नेतृत्वको दुई धारबीच हुने शक्ति संघर्षका कारण पार्टीका नियमित गतिविधि मात्र होइन, विधानअनुसार सम्पन्न हुनुपर्ने संरचनागत प्रक्रियासमेत प्रभावित बनेका छन्।यसको प्रत्यक्ष उदाहरण अघिल्लो जिल्ला अधिवेशनमै चयन हुनुपर्ने महासमिति सदस्य चयन प्रक्रिया हो। विधानले तोकेको समयमै टुंगिनुपर्ने महासमिति सदस्य चयन आन्तरिक विवादका कारण रोकिँदै आएको छ र अर्को अधिवेशन नजिकिँदासमेत सोलु कांग्रेसले महासमिति सदस्य छनोट गर्न अझसम्म पनि सकेको छैन ।
यही पृष्ठभूमिमा हालै सोलुखुम्बु जिल्ला कार्यसमितिका पदाधिकारीहरूबीच सम्पन्न छलफललाई महत्त्वपूर्ण मोडका रूपमा लिइएको छ। विशेषतः नेपाली कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा निर्वाचन तथा प्रतिनिधिसभा निर्वाचनको तयारीको सन्दर्भमा आएको यो एकताको प्रतिबद्धतालाई कार्यकर्ताले आशाको संकेतका रूपमा लिएका छन्। लामो समयदेखि गुटगत रस्साकस्सीले निराश बनेका स्थानीय नेता–कार्यकर्तामा संयुक्त विज्ञप्तिपछि उत्साह थपिएको देखिन्छ।
यद्यपि, सोलु कांग्रेसमा एकता घोषणामै सीमित हुने कि व्यवहारमा रूपान्तरण हुने भन्ने प्रश्न अझै बाँकी नै छ। विगतमा पनि मेलमिलापका प्रयासहरू भएका तर टिकाउ नबनेका उदाहरण स्मरण गर्दै कार्यकर्ताले यसपटक नेतृत्व तहबाट व्यवहारिक रूपमा एकताको अभ्यास देखिनुपर्ने अपेक्षा गरेका छन्।
सोलु कांग्रेसमा देखिएको विवाद र बिभाजन अब सदाका लागि बिसर्जन गरिएको बताउँदै जिल्ला सभापति शेर्पाले अब जिल्ला कार्यसमितिको ध्यान संगठनात्मक सुधार र चुनावी सफलतामा केन्द्रित हुने बताए।’बिगतले सोलु कांग्रेसलाई अविस्मरणीय पाठ पढाएको छ,-उनले रहस्य खबरसंग भने।

