माङमालुङ चिया बगानका सञ्चालकविरुद्ध सेयरधनीहरुले गुहारे उच्च अदालत
काठमाडौं,२८ मंसिर । माङमालुङ चिया बगानका सञ्चालकहरूले करोडौँ रुपियाँ हिनामिना गरेको आरोपसहित पीडित शेयरधनी उच्च अदालत पाटन पुगेका छन्। दर्ता नं. १४२४ मा दायर मुद्दा अघि बढाउँदै शेयरधनी तथा कलाकार नवल खड्कासहितको टोलीले सञ्चालक समितिले गिरिबन्धु टी–स्टेटमा जस्तै नीतिगत भ्र्ष्टाचार गरेको आराेप लगायका छन् ।

उपत्यका संयोजक हिमाल राईका अनुसार शेयरधनीलाई जानकारी नदिई करिब ८० रोपनी जग्गा गैरकानुनी रूपमा बिक्री गरिएको छ। केन्द्र प्रसाईको मुख्य योजनामा‘माई होम माई गार्डेन’ शीर्षकमा सायौं व्यक्तिबाट रकम उठाइए पनि त्यसको कुनै लेखाजोखा नरहेको उनीहरूको आरोप छ।
व्यवस्थापकीय सुझाव समितिले २०७२/७३ देखि २०७८/७९ सम्मका आर्थिक विवरणमा ९ करोड २१ लाखभन्दा बढी रकम अपारदर्शी रहेको प्रतिवेदन दिएको संस्थापक शेयरधनी बीबी राईले बताए। नवल खड्काका अनुसार हालसम्म करिब १५ करोड रुपैयाँ नीतिगत रूपमा दुरुपयोग भएको देखिन्छ।
शेयरधनीहरूले बिल–भर्पाईविना लेखापरीक्षण, अवैध ऋण–लेनदेन, नियमविपरीत चेक वितरण, मजदुरको ज्यालामा करोडौँ खर्च गरेको देखाएर पनि भर्पाई नभएको, लेखा समितिका सुझाव बेवास्ता गरिएको, सचिव र कर्मचारी नियमावली नबनाइएको लगायतका कमजोरीले कम्पनीलाई संकटतर्फ धकेलिएको आरोप लगाएका छन्।
कम्पनी स्थापना कालदेखि नै प्राकृतिक अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्यसहित लगानी गरेका शेयरधनीहरूले, सञ्चालक समितिका कार्यकारी निर्देशक केदार लामिछाने अध्यक्ष किरण राई सदस्य केन्द्र प्रसाईं र मणि भण्डारी लगाएतको अनियमितताबाट संस्थानै जोखिममा परेकाले सम्बन्धित निकायदेखि न्यायालयसम्म पुगेर लड्न बाध्य भएको नायक खड्काले बताएका छन्।

