डाक्टर,इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य छ : कुलपति राई




प्राज्ञ चेतनाथ धमला,सोलुखुम्बु,२४ मंसिर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्यालयमा ‘विद्यालयमा कुलपति’अन्तरक्रिया तथा कविता वाचन कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्य,नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी तथा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङको बिशिष्ट आतिथ्यमा सम्पन्न मंगलबार सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले ‘हाम्रो कुलुङ: मेरो कुलुङ’बोलको पालिका गानका साथै नृत्य र गीत समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले प्रत्येक जातजातिका आआफ्नै मातृभाषा रहेको बताउंदै सबैले आआफ्नै मातृभाषामा कविता लगायतको लेखन कार्य गर्न सक्नुपर्ने बताउनुभयो । वहाँले भन्नुभयो-‘महाकुलुङमा कुलुङ भाषाको बाहुल्य रहेको छ। कुलुङभाषी विद्यार्थी र साहित्य सर्जकले यसै भाषामा साहित्य सिर्जना गर्नुपर्छ।’वहाँले महाकुलुङ गाउँपालिका आफैँमा स्थानीय सरकार भएकाले कुलुङलगायतका भाषाको संरक्षण र सम्बर्द्धन गर्न ‘महाकुलुङ प्रज्ञा-प्रतिष्ठान’ गठन गर्न सुझाउनु भएको थियोे। उहाँले मातृभाषा बाँचे मात्रै देश सांस्कृतिक रूपमा समृद्ध हुने बताउनु भएको थियोे ।सगरमाथा माविका विद्यार्थीबिच संवाद गर्दै कुलुङभाषा लगायतका विद्यार्थीले आआफ्नो मातृभाषामा कविता लेख्न उत्प्रेरित गर्नुभएको थियोे । सबैले नेता,कर्मचारी,शिक्षक,डाक्टर,इन्जिनियर र प्रहरी आदिलाई चिने जस्तै लेखकलाई पनि चिन्न सक्नुपर्ने बताउनुभएको थियोे ।

विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले उक्त कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानको ऐतिहासिक पृष्ठभूमि र प्राज्ञिक संरचनाबारे प्रकाश पार्दै नेपाली र अङ्ग्रेजीसाथै आआफ्ना मातृभाषामा कविता लेख्न विद्यार्थीलाई सुझाउनु भएको थियोे ।जसले मातृभाषामा कलम चलाउँछ,उसको कविता लगायतको सिर्जना अब्बल हुने बताउँदै आफूले पढ्ने पुस्तकको लेखक को हो ? विद्यार्थीले चिन्नुपर्ने बताउनुभएको थियोे ।

विशिष्ट अतिथि महाकुलुङ गाउँपालिका बुङ,सोलुखुम्बुका अध्यक्ष सूर्यबहादुर कुलुङले नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञिक व्यक्तित्वहरू गाउँगाउँ र स्कुलस्कुलमा आउनु भनेको भाषा,साहित्य ,संस्कृति र कला क्षेत्रको विकासमा प्रेरणा मिल्नु हो। यसबारे अध्ययन गरेर महाकुलुङ प्रज्ञा-प्रतिष्ठान स्थापना गर्दै यस क्षेत्रको मातृभाषा र साहित्यको विकासमा लागि पर्ने बताउनुभएको थियोे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजमान राईले स्वागत मनतव्य राख्नुभएक‍ो थियोे।कार्यक्रममा नेपाली,अङ्ग्रेजी र कुलुङभाषामा कविता वाचन गरिएको थियोे ।जसमा कवि तिलक बाहिङ राईले’लाली गुँरास’र कवि मनुहाङ किरातीले ‘नेपालीको चिनारी’ शीर्षकको कविता वाचन गर्नुभएको थियोे।

उक्त विद्यालयकी कक्षा-७ कि छात्रा अमृता कुलुङले कुलपतिको स्वागतार्थ नेपाली भाषामा ‘ज्ञानको ज्योति’ शीर्षकको कविता वाचन गर्नुभएको थियो।दिया कुलुङ, सुस्तिका कुलुङ र वर्षा राईले अङ्ग्रेजी भाषामा आआफ्नो कविता प्रस्तुत गर्नुभएको थियोे।यसैगरी जेनी कुलुङले (नेपाली र कुलुङभाषा )र प्रिन्सा कुलुङले कुलुङभाषामा कविता वाचन गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्