थुलुङ दुधकोशीको अध्ययन अवलोकन भ्रमणमा भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्ष नेतृत्वको टोली
सोलुखुम्बु,२२ मंसिर । भोजपुरको रामप्रसाद राईगाउँपालिका अध्यक्ष थाम बहादुर राई (निर्माण) नेतृत्वको टोलीले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको अध्ययन तथा अवलोकन भ्रमण गरेको छ ।

अध्यक्ष राई,उपाध्यक्ष वीरेन्द्र राई,प्रमुख प्रशासकीय अधिकृत आङलाक्पा तामाङसहित अन्य कर्मचारी तथा विभिन्न विद्यालयका प्रधानाध्यापक सम्मीलित सो टोलीलाई सोमबार थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले स्वागत गरेका थिए । त्यसक्रममा अध्यक्ष राईले भ्रमण टोलीलाई गाउँपालिकाको वस्तुस्थिति र भए गरेका योजना तथा कार्यक्रमबारे जानकारी गराएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए । टोलीले थुलुङ दुधकोशीमा भएका शैक्षिक गतिविधि लगायत अन्य कार्यक्रमको अध्ययन गर्ने उनले बताए।
शैक्षिक भ्रमणका थुलुङदुधकोशी गाउँपालिका आउनुभएका अध्यक्ष राई नेतृत्वको टोलीलाई स्वागत गर्न पाउँदा अत्यन्तै हर्ष लागेको बताउँदै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राईले अध्ययन–अवलोकन भ्रमणका क्रममा एक अर्काले गरेका राम्रा अभ्यास तथा कार्यान्वयनमा ल्याएका महत्वपूर्ण कुराहरु एक-अर्कासँग आदान–प्रदान गर्ने अवसर प्राप्त हुनु अत्यन्त सुखद भएको बताए।
भ्रमणले दुवै पक्षका अनुभव,ज्ञान र सीपको परस्पर आदान–प्रदान गर्दै भविष्यमा अझ प्रभावकारी कार्यसम्पादन गर्न प्रेरणा मिल्ने अध्यक्ष राईको भनाई छ ।

