२० फागुनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले २१ गतेको निर्बाचनमा मतदान गर्न पाउने
काठमाडौं,२२ मंसिर । मतदाता नामावलीमा नाम दर्ता गरेका र २० फागुनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा मत हाल्न पाउने भएका छन् ।

निर्वाचन आयोगको २० मंसिरको निर्णय अनुसार यस्तो व्यवस्था मिलाएको सोमबार बिज्ञप्तिमार्फत जनाएको हो ।आयोगले संकलित मतदाता नामावली आफ्नो वेबसाइटमा प्रकाशन गरेपछि मङ्सिर २६ गतेसम्म नाम, ठेगाना वा अन्य विवरणमा त्रुटी सच्याउन निवेदन दिन सकिने विज्ञप्तीमा उल्लेख छ ।
कसैले झूटो विवरणका आधारमा नाम दर्ता गराएमा विरोधमा उजुरी दिन सकिनेछ । एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा परेमा एक स्थानमा मात्र राख्न अनुरोध आयोगको छ । मृतक वा नागरिकता त्याग गरेका व्यक्तिहरूको नाम हटाउन सूचना दिन आग्रह गरिएको छ । दाबी–विरोधका सबै प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।
मतदान स्थल छनोटका लागि अनलाइन सुविधा वृद्धि गर्ने उद्देश्यसहित आयोगले कतिपय मतदान स्थलहरूको पुनरावलोकन समेत गरेको छ । मतदाताले अब आफ्नो वडाभित्रका मतदान स्थलमध्ये सुविधाजनक स्थल छनोट गर्न अनलाइन प्रणालीमार्फत निवेदन दिन सक्नेछन् ।
आयोगले मतदाता नामावलीलाई अझ शुद्ध, विश्वसनीय र त्रुटीरहित बनाउन आम मतदाता तथा सरोकारवालाको सक्रिय सहभागिताका लागि अपिल गरेको छ ।

