टुंगियो महाधिवेशन प्रतिनिधि छनौट सम्बन्धि एमाले धनकुटा र ओखलढुंगाको विवाद



विराटनगर,२२ मंसिर । नेकपा एमाले धनकुटामा महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवाद टुंगिएको छ। विवाद समाधानसँगै धनकुटाबाट १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मतरूपमा चयन भएका छन्।

यसअघि एकपक्षीय रूपमा चुनाव गराइएको भन्दै असन्तुष्ट समूहले उजुरी दिएको थियो। असन्तुष्ट पक्षले निर्वाचन बहिष्कार गर्दै केही बूथमा तोडफोड र मतपत्र च्यातिएको घटनासमेत भएको थियो। धनकुटामा राजेन्द्र राई समूह र इन्द्रमणि पराजुली समूहबीच प्रतिस्पर्धा चल्दै आएको थियो।

विवादपछि एमाले संगठन विभागले प्रतिनिधि पुनः छनोट गर्न निर्देशन दिँदै कोशी प्रदेश कमिटीका इन्चार्ज शेरधन राई र केन्द्रीय सदस्य राजेन्द्र राईलाई विवाद समाधानको जिम्मा दिएको थियो।

दुवै नेताको समन्वयपछि १३ जना प्रतिनिधि सर्वसम्मत रूपमा छानिएका छन्। खुला तर्फबाट निरेन तामाङ, मनोज राई, शिव आङ्ला, निरन राई, चिन्तन तामाङ, परशु नेपाल र खगेन्द्र राई प्रतिनिधि बनेको असन्तुष्ट पक्षका नेता इन्द्रमणि पराजुलीले जानकारी दिए।

यस्तै, युवातर्फ सरोज राई, दलिततर्फ नैन रुचाल, महिलातर्फ तुलसी राई, सम्झना आले मगर, निर्मला इभाङ लिम्बू र गोमा कार्की चयन भएका छन्। साथै, जिल्लाका दुई वरिष्ठ नेतालाई मनोनयन गर्ने सहमति पनि बनेको छ।

यसअघि प्रतिनिधि रहेका शान्तिराम गौतम र अर्जुन छाराहाङको स्थानमा अहिले निरेन तामाङ र मनोज राईलाई समावेश गरिएको बताइएको छ।

उता,पटकपटकको छलफलपछि मङ्सिर १३ गतेको प्रतिनिधि चयन प्रक्रिया बहिष्कार गरेको पक्षलाई ४ प्रतिनिधि दिएर मिलाइएको ओखलढुंगाको संस्थापन इतर पक्षले जनाएको छ । ओली पक्षबाट पूर्वजिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला उपसचिव अस्मिता थापा, संविधानसभा सदस्य हर्कबोल राई र शकुन्तला राजभण्डारीलाई महाधिवेशन प्रतिनिधि बनाउने सहमति भएको छ ।

अन्य आठ जना प्रतिनिधि भने पोखरेल पक्षका छन् । जिल्ला कमिटी अध्यक्ष जीबी खड्का, कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला उपाध्यक्ष कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, उपसचिव राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे पोखरेल पक्षधर हुन् ।

प्रतिक्रिया दिनुहोस्