मानव पुँजी बिकास सूचकांकमा नेपालको प्रगति !



काठमाडौं,२ असोज । कोभिड-१९ महामारीका बाबजुद पनि नेपालले मानव पुँजी विकासमा उल्लेख्य प्रगति हासिल गरेको तथ्यांक सार्वजनिक भएको छ। बिश्व बैंकले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस महामारी र त्यसभन्दा अघिको अवस्थामा कमजोर आर्थिक स्थिति भएका मुलुकमा स्वास्थ्य र शिक्षा क्षेत्रमा तुलनात्मक उपलब्धी नदेखिँदासमेत नेपालले सन्तोषजनक प्रगति हासिल गरिरहेको जनाएको हाे।
विश्व बैंकले विभिन्न मुलुकको अहिलेको शिक्षा र स्वास्थ्य प्रणालीले आउँदो पुस्ताका लागि दक्ष जनशक्ति उत्पादनमा कस्तो प्रभाव राख्छ भन्ने अध्ययन गर्न मानव पुँजी सूचकांक (ह्युमन क्यापिटल इन्डेक्स) सार्वजनिक गर्दै आएको छ।
बिहीबार सार्वजनिक भएको ‘२०२० ह्युमन क्यापिटल इन्डेक्स’ रिपोर्ट अनुसार कोभिड-१९ महामारी फैलनुपूर्व कमजोर अर्थतन्त्र भएका मुलुकले पनि उल्लेख्य प्रगति गर्दै गएको र त्यो निकै सराहनीय कदम भएको उल्लेख छ।
विश्वका १७४ वटा मुलुकमा भएको अध्ययनअनुसार मानव पुँजी सूचकांकमा नेपालले ०.५० अंक पाएको छ। कुल १ अंकभारलाई आधार मानेर तयार पारिएकाे सूचीमा ०.८८ अंकसहित सिंगापुर पहिलो नम्बरमा छ। त्यस्तै क्रमशः हङकङ, जापान, कोरिया, क्यानडा र फिनल्याण्ड शीर्ष स्थानमा छन्।
खराब अवस्था भएका मुलुकको सूचीमा ०.२९ अंकसहित सेन्ट्रल रिपब्लिकन अफ्रिका पहिलो नम्बरमा छ। त्यस्तै दक्षिण सुडान, लाइबेरिया, माली, नाईजेरियालगायत देशहरुको मानव पूँजी सुचकांक कमजोर छ।

प्रतिक्रिया दिनुहोस्