बाबुराजा म्यूजिक भिडियो निर्देशक ‘दीर्घ साधना सम्मान-२०८२’ बाट सम्मानित



काठमाडौं,६ मंसिर । म्युजिक भिडियो निर्देशक बाबुराजा केसी ‘उज्ज्वल’ म्यूजिक भिडियो निर्देशक दीर्घ साधना सम्मान – २०८२ बाट सम्मानित भएका छन् ।

तीन दशकदेखि नेपाली संगीत क्षेत्रमा म्यूजिक भिडियो निर्माण तथा निर्देशन गरेर गीत संगीतको क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर स्वरुप केसीलाई बि.स्टार फिल्मस् प्रालि. र दिनपरी क्रियसन प्रालि. को सहकार्यमा शुक्रबार सम्पन्न दोस्रो बि. स्टार फिल्मस् म्यूजिक अवार्डको अवसरमा म्यूजिक भिडियो निर्देशक दीर्घ साधना सम्मान – २०८२ बाट सम्मानित गरिएको हो।

झण्डै दुई हजार भन्दा बढी म्यूजिक भिडियो निर्देशन गरेर आफुलाई सफल एवं स्थापित निर्देशकको पहिचान बनाउन सफल केसी तीन दशकदेखि नेपाली संगीत क्षेत्रमा म्यूजिक भिडियो निर्माण तथा निर्देशनमा सक्रिय छन्।

केसीलाई प्रदान गरिएको सम्मान पत्रमा अगाडि भनिएको छ- बुवा नरबहादुर केसी र आमा हेम कुमारी केसीको कोखबाट विसं. २०३१ साल जेठ ३ गते सल्यान-२, सोलुखुम्बुमा जन्मनुभएका आदरणीय बाबुराजा केसीज्यू, तपाईले करिब तीन दशकदेखि नेपाली संगीत क्षेत्रमा म्यूजिक भिडियो निर्माण तथा निर्देशनमार्फत पुऱ्याउनुभएको अतुलनीय योगदान प्रशंसनीय छ।

तत्कालीन समयमा प्रचलित श्रव्य माध्यमलाई दृश्यसँग जोडी एकसाथ सुन्न र हेर्न मिल्ने गरी म्यूजिक भिडियो निर्माण प्रक्रियालाई कृष्ण फिल्मस् प्रा. लि. मार्फत् व्यावसायिक रूपमा सुरु गर्दै करिब २००० भन्दा बढी म्यूजिक भिडियो निर्देशन गरेर आफुलाई सफल एवं स्थापित निर्देशकको रूपमा चिनाउनुभयो । यसै क्रममा दर्जनौं मोडल, कलाकार, छायांकार, सम्पादक तथा निर्देशकहरू जन्माउन सफल हुनु तपाईंको अर्को विशिष्टता हो।

लोकदोहोरी, लोकपप, आधुनिक लगायत नेपाली गीत संगीतका सबै विधाका गीतमा गर्नु भएको कुशल निर्देशन र अमूल्य योगदानप्रति उच्च सम्मान प्रकट गर्दै बि.स्टार फिल्मस् प्रालि र दिनपरी क्रियसन प्रालि को सहकार्यमा सम्पन्न दोस्रो बि. स्टार फिल्मस् म्यूजिक अवार्डको शुभ अवसरमा यहाँलाई म्यूजिक भिडियो निर्देशक दीर्घ साधना सम्मान – २०८२ अर्पण गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्