कक्रोच जनता पार्टीको आन्दोलन : अन्ततः भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
काठमाडौ,९ साउन ।अन्ततः भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । प्रधान स्वयंले सोसल मिडियामा पत्र सेयर गर्दै आफ्नो राजीनामाको जानकारी दिएका हुन् ।

निट प्रश्नपत्र बाहिरिएको प्रकरणमा प्रधानलाई दोषी ठहर गर्दै कक्रोच जनता पार्टीको आह्वानमा जन्तर-मन्तरमा ३६ दिनदेखि धर्ना तथा आन्दोलन चल्दै आएको थियो । धर्मेन्द्र प्रधानको राजीनामापछि कक्रोच जनता पार्टीको प्रतिक्रिया आएको छ ।
पार्टीले पोस्ट गर्दै ‘कक्रोचको जित भएको’ बताएको छ । पार्टीले विगत ३६ दिनदेखि प्रधानको राजीनामा माग गर्दै जन्तर–मन्तरमा प्रदर्शन गरिरहेको छ । सामाजिक कार्यकर्ता सोनम वाङ्चुकले पनि प्रधानको राजीनामाका लागि यहाँ भोक हडताल गरेका थिए ।
प्रधानको राजीनामापछि पार्टीले यस कदमलाई विद्यार्थी आन्दोलनको जितका रूपमा मनाएको छ । उक्त स्थलको एउटा भिडियोमा विद्यार्थीहरूले दीपकेसँगै मिलेर यस निर्णयको उत्सव मनाइरहेको देखिएको छ ।
प्रधानले सन् २०२६ मे ३ मा सञ्चालन भएको निट(युजी परीक्षामा अनियमितता भेटिने बित्तिकै नरेन्द्र मोदी सरकारले तुरुन्तै अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) लाई सुम्पेको, परीक्षा रद्द गरेको र नयाँ परीक्षाको घोषणा गरी सम्पन्न गराएको बताएका छन् । जुन २१ मा पुनः लिइएको परीक्षा केन्द्र, राज्य सरकार र जिल्ला प्रशासन सम्मिलित भई सरकारको एकीकृत प्रयासबाट सफलतापूर्वक सम्पन्न भएको उनको भनाइ छ ।

