अनुपम फुडल्याण्डमा आज भेला हुँदै कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेता
काठमाडौं,२० कात्तिक। नेपाली कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने बिषयमा तीब्र बहस भइरहेका बेला नियमित महाधिवेशन पक्षधरहरुको भेला आज काठमाडौंमा आयोजना गरिएको छ।

नयाँ बानेश्वरस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे हुने भेलामा नियमित महाधिवेशनको वकालत गर्दै आएको संस्थापन समूहका नेताहरु सहभागी हुने बताईएको छ । कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिदै आएका छन्।
पार्टी केन्द्रीय समितिको मंगलबारको बैठकमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका प्रस्तुत भएका थिए। संस्थापन समूहको तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले आगामी बैशाख २७-३० गते नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पेश भएको थियो।
बिशेष महाधिवेशन पक्षधरहरुको तर्फबाट महामन्त्री गगन थापाले २१ फागुनको चुनाव अघि १६-१९ पुससम्म विशेष महाधिवेशन गर्नुपर्ने तालिका प्रस्ताव गरेका छन् । थापा पक्षधरहरुले यसअघि विशेष महाधिवेशन माग गर्दै संकलन गरिएका हस्ताक्षर २९ असोजमा पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो ।
विशेष महाधिवेशन पक्षधरले मंगलबार काठमाडौंमा भेलाको आयोजना गरेका थिए। त्यसैको काउन्टर स्वरुप नियमित महाधिवेशन पक्षधर नेताहरूले आज भेला आयोजना गर्न लागेको एक नेताले बताए ।

