एकीकृत भए विभिन्न १० कम्युनिस्ट घटक,बन्यो नेपाली कम्युनिस्ट पार्टी



काठमाडौँ,१९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । 

भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा २३ बुंदे संक्षिप्त घोषणा पत्रसहित माओवादी केन्द्र,एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी,जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा(साम्यवादी)लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो ।

एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ भने त्यसको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकता घोषणासभामा र सहसंयोजकमा माधवकुमार नेपाल रहेको घोषणा गरिएको छ।पार्टीको तेस्रो बरियतामा पूर्बप्रधानमन्त्री झलनाथ खनाल रहेका छन्।

एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ । सो अवसरमा उक्त पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ सार्वजनिक गरिएको हो ।

त्यस अवसरमा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं एकता संयोजन समिति सदस्य प्रमेश हमालले सुशासन, सामाजिक न्याय र आर्थिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएकाले विभिन्न वाम घटकबीच एकता भएको बताए । उनका अनुसार पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने पार्टीको तत्कालीन कार्यनीति रहेको छ ।
एकीकृत पार्टीबीच आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ । एकता प्रक्रियामा सहभागी भएका पार्टीका साविकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिनेछ । केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद रहनेछ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरुमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ ।

एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधि,आयोजना,सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने नौ दलहरूबीच सहमति भएको छ । पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्तअनुरुप हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्