पार्टीभित्रको संकट समाधान गर्न तत्काल महाधिवेशन आवश्यक छ : केन्द्रीय सदस्य शेर्पा



काठमाडौँ,१९ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाले पार्टीलाई अहिलेको राजनीतिक सङ्कट र चुनौतिबाट पार लगाउन तुरुन्तै महाधिवेशन सम्पन्न गरी नयाँ नीति तथा नेतृत्व निर्माण गर्नु अत्यावश्यक भएको बताएका छन्।

बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै शेर्पाले निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गरी पार्टीभित्र उठेका प्रश्नहरूको समाधान गर्नुपर्नेमा जोड दिए।शासकीय स्वरूप, विदेश नीति लगायतका राष्ट्रिय समस्याहरूको सम्बोधन गर्न अब कांग्रेसले नयाँ सोच,नीति र उत्साहका साथ अघि बढ्नु टड्कारो आवश्यकता भएको उनको भनाई छ् ।

शेर्पाले पार्टी नेताहरूले संसदलाई दरबारको इशारामा चल्ने राष्ट्रिय पञ्चायतजस्तो बनाएका कारण यसको गरिमा तहसनहस भएको तर्क गरेका थिए। कांग्रेसले जनविश्वास पुनः आर्जन गर्न आन्तरिक आत्मसमीक्षा गर्नुपर्ने बताउंदै उनले लोकतन्त्रका हिमायतीहरूले महाधिवेशनबाट भाग्न नहुने बताए।

उनका अनुसार,पार्टीभित्रको जड़ता र नेतृत्वको अकर्मण्यताले देशमा सिर्जना भएको वर्तमान राजनीतिक संकट समाधान गर्न अब महाधिवेशनबाट मात्र सम्भव छ।

प्रतिक्रिया दिनुहोस्