पुस १६ देखि १९ गतेभित्र महाधिवेशन गर्ने महामन्त्री थापाको प्रस्ताव
काठमाडौं,१८ कार्तिक । नेपाली कांग्रेस महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

संस्थापन पक्षले आउँदो वैशाख वा जेठमा मात्रै यस्तो महाधिवेशन गर्ने बताईरहेका बेला पार्टीको जारी केन्द्रीय समिति बैठकमा थापाले उक्त प्रस्ताव राखेको हुन् ।
बैठकको सुरूवातमा सम्बोधन गर्दै थापाले पुस १६ देखि १९ सम्म १५ औं महाधिवेशनको प्रस्ताव राखेको बैठकमा सहभागी नेताहरुले बताएका छन् । सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी वैशाख २५ देखि २८ सम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो ।
संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् ।
उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् । तर संस्थापन पक्षले कडान नछोडेपछि इतरपक्ष आक्रोसित भएको छ । इतर पक्षका एक नेता जगदिशनरसिंह केसीले सिंगापुरबाट कांग्रेस चलाउने काम भएको भन्दै बैठकमा आलोचनासमेत गरेका छन् । अहिले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु स्वास्थ्य उपचारका नाममा सिंगापुर गएका छन् ।

