प्रज्ञा भवनमा सुरु भयो माओवादी केन्द्रको केन्द्रीय समिति बैठक
काठमाडौं,९ असोज ।नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा आजबाट सुरु भएको छ। बैठकमा

दुई दिनसम्म चल्ने बैठकमा अध्यक्ष प्रचण्डले पेश गर्ने समसामयिक राजनीतिक प्रस्ताव र महासचिव देव गुरुङले पेश गरेका एजेण्डाहरु माथी छलफल हुने बताईएको छ ।बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आम निर्वाचन, पार्टी एकता लगायत विषयमा छलफल हुनेछ ।
बैठकमा विकसित राजनीतिक परिस्थितिबारे प्रचण्डले समसामयीक राजनीतिक प्रस्तावबारे छलफल गरी निर्णय लिने माओवादी केन्द्रले जनाएको छ । त्यसपछि आगामी महाधिवेशनको मिति र स्थान तय गरिने नेताहरुले बताएका छन् ।
प्रवक्ता अग्नि सापकोटाका अनुसार जेनजी युवा आन्दोलनपछि विकसित राजनीतिक परिस्थ्तििमा पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने लगायतका विषयमा छलफल हुनेछ ।
माओवादीका उपमहासचिव जनार्दन शर्माले समसामयीक परिस्थितिमा पार्टीको नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने विशेष महाधिवेशनको माग गर्दै आएका छन् । जनेजी युवा आन्दोलनपछि उनले अध्यक्ष प्रचण्डको राजीनामा नै मागेका छन् ।
आइतबारको पदाधिकारी बैठकमा उपमहासचिव शर्माले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई संयोजक बनाएर विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेका थिए । दुई वर्षदेखि नेतृत्व परिवर्तनको अडानमा रहेका शर्माकै जस्तो तर्क श्रेष्ठको पनि थियो । ‘अलग तर्क र सन्दर्भ भएपनि नेतृत्व परिवर्तनमा उहाँहरू एकैठाउँ जस्तो देखिनुभयो,’ बैठक स्रोत भन्छ ।
अध्यक्ष प्रचण्डले केन्द्रीय समितिसहित पार्टीका सबै कमिटी भंग गरेर आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पदाधिकारी र स्थायी समिति बैठकमा गरेका छन् । आजको केन्द्रीय समिति बैठकले त्यसबारे औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।

