यी हुन् उर्जामन्त्री घिसिङका पाँच प्राथमिकता
काठमाडौं,३० भदौ । नवनियुक्त ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले तत्काल पाँच कार्य अघि बढाउने निर्णय गरेका छन् । सोमबार (भदौ ३०) सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले तत्काल अगाडि बढाउने मुख्य पाँच कार्यका बारेमा जानकारी गराएका हुन् ।

उनले पहिलो निर्णय डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरिसकेका छन् । सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनर्निर्माण कार्य तत्काल अगाडि बढाउने पनि उनले निर्णय गरेका छन् ।
पुनर्निर्माणका निम्ति ‘हाम्रा सार्वजनिक संरचना हामी आफैँ बनाउँनेछौँ’ भन्ने अभियान सञ्चालन गर्ने र विदेशमा रहेका नेपालीबाट सहयोग माग्ने उनले निर्णय गरेका छन् । मन्त्रालय र यसअन्तर्गतका निकायभित्र हुने भ्रष्टाचार, अनियमिता र ढिलासुस्तीमा शून्य सहनशीलता अवलम्बन गर्ने मन्त्री घिसिङको अर्को निर्णय छ ।
“यस्ता क्रियाकलाप सह्य हुने छैन । कसैले त्यस्ता कार्य गरेको फेलापरेमा तत्कालै कारबाही गरिनेछ । जेनजीले मुख्य रूपमा उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाइका साथ कार्यान्वयन गरिनेछ,” उनले भने ।
उनले चालु अवस्थामा रहेका ठूला आयोजना निर्माण कार्यलाई तीव्रता दिइने बताए । रणनीतिक महत्त्व र रूपान्तरणकारी केही ठूला आयोजनालाई अगाडि बढाइने उनले जानकारी दिए ।
“चालु रहेका ठूला पूर्वाधारका आयोजनाहरू तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठूलो आर्थिक क्षति व्यहोरिरहेको छ, त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्बनापूर्ण अवस्था छ,” उनले भने, “यसलाई चिर्न प्राथमिकताको आधारमा आयोजना छनोट गरी परिणाम निक्लने गरी कार्य अगाडि बढाइनेछ । अहिले हाम्रा लागि हरेक सेकेन्ड महत्त्वपूर्ण छ ।”

