दूध उत्पादक किसानहरुले आज दुग्ध बिकास संस्थानमा धर्ना दिने
काठमाडौं,१५ भदौ । दूधको मूल्य भुक्तानी नपाएको भन्दै द्ग्ध उत्पादक कृषकहरु आन्दोलनमा उत्रिने भएका छन् । काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिएर दुध उत्पादक किसानहरुले आजदेखि आन्दोलन सुरुगर्ने भएका हुन्।

दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आएको तर त्यसको सम्बोधन नभएकाले आज मध्यान्ह १२ बजे संस्थानको कार्यालयमा धर्ना दिन लागिएको अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा.भेषराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार धर्ना कार्यक्रम करिब एक घण्टा चल्ने छ । धर्ना कार्यक्रममा काभ्रे, नुवाकोट, धादिङ लगायत काठमाडौं उपत्यका र आसपासका किसानहरुको सहभागिता रहने छ । गत वर्षदेखिकै भुक्तानी नपाउँदा किसानहरूले ठूलो पीडा र आर्थिक संकट व्यहोर्न बाध्य हुनुपरेको बताउँदै उनले किसानहरूको पीडा,समस्या र मागहरूलाई उजागर गर्दै आफ्ना जायज मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले धर्ना कार्यक्रम राखिएको जानकारी दिए।

