काठमाडौंमा ‘यौम–ए–इस्तेह्सालः द पोलिटिकल एन्ड ह्युमनिटेरियन फलआउट’ बिषयक छलफल सम्पन्न



काठमाडौं,२० साउन । काठमाडौंमा ‘यौम–ए–इस्तेह्सालः द पोलिटिकल एन्ड ह्युमनिटेरियन फलआउट’ बिषयक छलफल आयोजना गरिएको छ । पाकिस्तान दूतावासमा मंगलबार आयोजित छलफल कार्यक्रममा पत्रकार,लेखक, विश्लेषक तथा मानव अधिकारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्री र विदेशमन्त्रीका सन्देशहरू पढेर सुनाइएको थियो।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले पठाएको सन्देशमा भारतीय अवैध कब्जामा रहेको जम्मु–कश्मीर (आईआईओजेके)का जनताप्रति पाकिस्तानको अटल समर्थन दोहोर्‍याएका थिए । उनले भारतले क्षेत्रको जनसांख्यिक तथा राजनीतिक स्वरूप परिवर्तन गर्ने प्रयासस्वरूप निर्वाचन क्षेत्र हेरफेर,सामूहिक पक्राउ, सञ्चारमाध्यमलाई नियन्त्रणजस्ता कदमको कडा शब्दमा निन्दा गरे ।

हालैको भारतीय आक्रामक व्यवहारको सन्दर्भमा उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्तावअनुसार कश्मीर विवादको समाधान नै दक्षिण एसियामा दीर्घकालीन शान्तिको आधार हुने भन्दै पाकिस्तानको राजनीतिक, नैतिक तथा कूटनीतिक समर्थन निरन्तर रहने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री मियाँ मुहम्मद शहबाज शरीफको सन्देशमा पाकिस्तान कश्मीरी जनताको पक्षमा दृढ रूपमा उभिएको र सन् २०१९ अगस्ट ५ देखि भारतले आईआईओजेकेको स्थितिमा परिवर्तन ल्याउने गरी गरेका अवैध कदमहरूको कडा शब्दमा विरोध गरिएको उल्लेख थियो ।

साथै, पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायलाई भारतलाई जवाफदेही बनाउन र संयुक्त राष्ट्रसंघका प्रस्ताव कार्यान्वयन गर्न आग्रह गर्दै, कश्मीरीहरूको आत्मनिर्णयको अधिकारको समर्थन जारी राख्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सम्बोधन गर्दै पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले यो दिनलाई भारतीय दीर्घकालीन कब्जा र कठोर कानुनअन्तर्गत कश्मीरी जनताले भोगिरहेको निरन्तर उत्पीडनको गम्भीर स्मरण दिवसको रूपमा वर्णन गरे । उनले कश्मीर विवादको न्यायपूर्ण समाधानबिनाको दक्षिण एसियाली शान्ति असम्भव हुने र हालैको भारत–पाकिस्तान तनाव त्यसको प्रष्ट उदाहरण भएको बताए ।

पछिल्लो छलफल सत्रमा सहभागीहरूले भारतीय सरकारको एकतर्फी र अवैध कदमका कारण कश्मीरी जनताले भोगिरहेको पीडाबारे अन्तर्राष्ट्रिय रूपमा आवाज उठाउनुपर्ने महत्त्वलाई जोड दिए ।

प्रतिक्रिया दिनुहोस्