ओम चरण अमात्यद्वारा लिखित ‘पाकिस्तानका बौद्ध सम्पदाहरु’ लोकार्पित



काठमाडौं,२५ असार । लेखक ओम चरण अमात्यद्वारा लिखित ‘पाकिस्तानका बौद्ध सम्पदाहरु’नामक पुस्तकको लोकार्पण गरिएको छ ।

पाकिस्तानी दूताबासद्वारा आयोजित कार्यक्रममा बुधबार प्रमुख अतिथि नेकपा एमालेका सांसद भीम आचार्य तथा विशेष अतिथिहरू नेपालका लागि म्यानमारका राजदूत यू म्यो मिन्ट माउङ र श्रीलंकाका चार्ज डी’अफेयर्स सुश्री चमीरा मुनासिंघेले सो पुष्तकको संयुक्तरूपमा लोकार्पण गर्नुभएको थियो ।पाकिस्तानका विभिन्न विश्वविद्यालयहरू र थिंक ट्याङ्कहरूले अनलाइन कार्यक्रममा भाग लिएका थिए। पाकिस्तानका लागि बौद्ध सम्पदा प्रवर्द्धनका राजदूत श्री ए. इमरान शौकतले भर्चुअल रूपमा सम्बोधन गर्दै “पाकिस्तानको बौद्ध सम्पदा प्रवर्द्धन पहल” का बिषयमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद आचार्यले सांस्कृतिक सम्पदाको महत्त्वलाई P2P सम्पर्कको एक महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो । बौद्ध सम्पदालाई दुवै मित्र राष्ट्र पाकिस्तान र नेपालको साझा विरासत भएको वहाँको भनाइ थियो ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीले भने कि पाकिस्तानले आफ्नो सांस्कृतिक सम्पदामा गर्व गर्ने बताउंदै यसको संरक्षण प्राथमिकतामा रहेको बताउनुभयो । वहाँले पाकिस्तान र नेपालबीचको गहिरो ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने क्रममा शओम चरण अमात्यले प्रशंसनीय काम गरेको बताउंदै लोकार्पित पुस्तकले अनुसन्धान, तीर्थयात्राका लागि मार्गदर्शन गर्ने आशा व्यक्त गर्नुभयो ।

पुस्तकका लेखक ओम चरण अमात्यले मन्तव्यका क्रममा पाकिस्तानमा रहेका पूजनीय स्थलहरू, नेपालसँगको तिनीहरूको सम्बन्ध र विश्वभरका नेपाली र बौद्धहरूका लागि आध्यात्मिक र सांस्कृतिक मूल्यको सम्भावनाबारे प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा भिक्षुहरू र बौद्ध विद्वानहरू,राजनीतिक नेताहरू, पत्रकारहरू,नागरिक समाजका सदस्यहरू र पाकिस्तानी दूतावासका अधिकारीहरू र उनीहरूका परिवारहरू पनि कार्यक्रममा उपस्थित रहेको पाकिस्तानी दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्