१०२ विद्यालयका १९५ नेपाली विद्यार्थीलाई पाकिस्तानी दूतावासको छात्रवृत्ति



काठमाडौं,१२ असार ।नेपालस्थित पाकिस्तानी दूतावासले १०२ विद्यालयका १९५ नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

काठमाडौंको र्‍याडिसन होटलमा बिहिवार आयोजित कार्यक्रममा ती विद्यार्थीलाई १३ औं ‘पाकिस्तानका राजूदूत छात्रवृत्ति’ प्रदान गरिएको हो। नेपाल परिवार पार्टीका अध्यक्ष माननीय एकनाथ ढकाल प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरूले छनोट गरेका सबैभन्दा योग्य र प्रतिभाशाली नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति र अध्ययनमा निरन्तर राम्रो प्रदर्शन गरेकोमा एक प्रतिभाशाली विद्यार्थीलाई ल्यापटप प्रदान गरिएको नेपालस्थित पाकिस्तानी दूतावासले जनाएको छ ।

‘पाकिस्तानका राजदूत छात्रवृत्ति’ कार्यक्रम २०१३ देखि नियमित रूपमा आयोजना हुँदै आएको छ ।

कार्यक्रममा बोल्दै माननीय एकनाथ ढकालले पाकिस्तानले विशेष गरी शिक्षाको क्षेत्रमा निरन्तर प्राविधिक सहयोग गरेकोमा प्रशंसा गर्दै यो पाकिस्तान र नेपालबीचको घनिष्ठ मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्ब भएको उनले बताए।

राजदूत अब्रार एच हाशमीले पाकिस्तानले छात्रवृत्ति कार्यक्रमलाई नेपालका उच्च माध्यमिक तहका विद्यार्थीहरूसहित शिक्षाका सबै तहमा सहयोग विस्तार गर्ने प्रयासलाई निरन्तरता दिने बताए। अध्ययन, खेलकुद र स्वस्थ सामाजिक गतिविधिहरूको क्षेत्रमा नेपाली युवाहरूलाई प्रोत्साहन गर्नु द्विपक्षीय सहयोगको एक महत्त्वपूर्ण पाटो भएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्