इजरायल र इरानबीचको युद्ध थप चर्कँदै
काठमाडौं,१ असार । इजरायल र इरानबीच सुरु भएको युद्ध थप चर्किएको छ।

दुवै देशले एकअर्काविरुद्ध शक्तिशाली मिसाइल प्रहार गरिरहेका छन्। बिहीबार राति इजरायलले आक्रमण गरेपछि इरानले जवाफी आक्रमण सुरु गरेको हो। इजरायलले गरेको आक्रमणमा इरानमा सैन्य प्रमुख हुसैन सलामी र ६ जना परमाणु वैज्ञानिकसहित ७२ जनाको मृत्यु भएको थियो।
त्यसको बदलामा इरानले इजरायलमा आक्रमण सुरु गरेको हो। इरानले इजरायलको राजधानी तेलअभिव, पुरानो राजधानी जेरुसेलम लगायतका सुरक्षित सहरमा व्यालेस्टिक मिसाइल प्रहार गरिरहेको छ।
यो आक्रमणमा हालसम्म ६ जनाको मृत्यु भइसकेको र एक सय जनाभन्दा घाइते भएको अधिकारीहरुले जनाएका छन्। उता इजरायलले इरानका परमाणु केन्द्र र तेल डिपोहरुलाई निशाना बनाएर आक्रमण जारी राखेको छ।
दुवै देशले एक अर्काविरुद्ध आक्रमण रोक्न चेतावनी दिए पनि आक्रमण रोकेका छैनन्। इरानी राष्ट्रपति मसुद पेजेशकियनले आक्रमण नरोके इजरायलविरुद्ध अझै कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन्।
यसअघि हिजो इजरायली रक्षामन्त्री इजरेल काट्टले इरानलाई मिसाइल प्रहार नरोके तेहरान जल्ने चेतावनी दिएका थिए। यसैबीच इरानले मध्य इजरायलमा आक्रमण तीव्र पारेपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सुरक्षित स्थलमा सारिएको छ।
उता इरान र इजरायलबीच तनाब बढेपछि इरान र अमेरिकाबीच ओमानमा हुने भनिएको परमाणु वार्ता रद्ध भएको छ।

