पतञ्जलीको जग्गामा आफुले कुनै अनुचित काम नगरेको नेपालको दाबी



काठमाडौं,२३ जेठ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पतञ्जलीको जग्गामा आफुले कुनै अनुचित कार्य नगरेको दावी गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख ५० हजार बिगो र १८ बर्ष कैदको मागदाबी सहित बिहिवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अध्यक्ष नेपालले सो दावी गरेका हुन्।‘मैले कुनै किसिमको भ्रष्टाचार गरेको छैन, कसैसँग अनुचित लाभ लिएको छैन। पतञ्जलिजस्तो संस्थामा त्यस्तो भएको होला भन्ने मैले कल्पना पनि गर्ने कुरा भएन,उनले भनेका छन्।

जग्गा खरिद प्रकरणमा यताउता र अनियमितता भएको भए त्यो कर्मचारीबाट भएको हुनसक्ने उनको भनाई छ। नेपाली जनता स्वस्थ रहुन् भनेर त्यसबेला आफूले पतञ्जलिका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको उनको भनाइ छ।

साथै उनले एमाले अध्यक्ष केपी ओली सुरुदेखि नै आफूविरुद्ध लागेको बताएका छन्।‘सिधा कुरा हो, उहाँ (केपी ओली) मेरो विरुद्धमा सुरुदेखि लाग्नुभएको पनि हो,अध्यक्ष नेपालले भनेका छन्, ‘मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत नै हो । पहिले पनि पटकपटक कोसिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो।

पूर्ब प्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध बिहिवार अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्