रोमानियाको बुकारेस्टमा मनाइयो किराँती समुदायको महान पर्व उभौली सकेला
दावा जाङ्बु शेर्पा,५ जेठ ।किराँती समुदायको मौलिक चाड उभौली साकेला पर्व यस वर्ष रोमानियाको राजधानी बुकारेस्टमा विशेष उत्साह र भव्यताका साथ सम्पन्न भएको छ।

नेपाल किराँत समावेशी समाज रोमानियाको आयोजनामा सम्पन्न यो सांस्कृतिक कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायबीच पहिचान, एकता र सांस्कृतिक गौरवलाई झनै मजबुत बनाएको आयोजकको भनाई छ ।
कार्यक्रममा किराँती परम्परागत साकेला सिलि नृत्य प्रस्तुत गरिँदा उपस्थित सबैले हर्ष र गौरवको अनुभूति गरेका थिए। किराँती धर्म, संस्कृति र प्रकृतिपूजक परम्पराको प्रतिनिधित्व गर्ने यस पर्वले विशेषगरी जमिन, प्रकृति र पुर्खाप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ बाली रोप्ने कार्यको सुरुवातलाई चिह्नित गर्दछ।
कार्यक्रममा काग्यु बुद्धिस्ट एसोसिएसन, नेपाल तामाङ घेदुङ रोमानिया, शेर्पा किदुग रोमानिया, तमु समाज रोमानिया, नेपाल मगर संघ रोमानिया, र नेपाली समाज रोमानियाका प्रतिनिधिहरुको गरिमामय उपस्थिति रहेको थियो। यस्तै, रोमानियाका विभिन्न पेशागत क्षेत्रहरूमा कार्यरत नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामाको प्रमुख आतिथ्यता तथा नेपाल किराँत समावेशी समाज रोमानियाका अध्यक्ष गौरीमान लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय कलाकारहरूले बेजोड साङ्गीतिक प्रस्तुति दिएका थिए।नेपाली लोकधुन,परम्परागत भाकाहरू र आधुनिक प्रस्तुतीहरूले रोमाञ्चक बनाएको सो कार्यक्रमले परदेशमा पनि आफ्ना मौलिक गीत, संगीत र नृत्यमार्फत संस्कृति जगेर्ना गर्न सकिन्छ भन्ने सन्देश दिएको अध्यक्ष लिम्बुले बताए।

