धनुषा एमाले जिल्ला अधिबेशनका क्रममा दुई पक्षबीच झडप हुँदा पाँच घाइते



जनकपुरधाम,२३ बैशाख। नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप हुँदा ५ जना घाइते भएका छन्।

घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेका छन्। दुवै जनाको टाउको फुटेको छ।अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा कुर्सी हानाहान भएको थियो।भोला यादव र लक्ष्मी नारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

गत २० वैशाखदेखि सुरु अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो। नेतृत्व चयनका लागि सोमबार राति नै मनोनयन दर्ता भएको थियो। उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए।

उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्रकुमार मण्डलको उम्मेदवारी परेको छ।उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवार बनेकी छन्।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ।आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोकेको थियो।तर, उम्मेदवारको अन्तिम मतदानमावलीका विषयमा विवाद भएपछि मतदान सुरु हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्