२६ औं दिनमा शिक्षक आन्दोलन बन्यो उग्र, शिक्षक महासंघको आकस्मिक बैठक बस्दै



काठमाडौँ,१४ बैशाख।नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले आन्दोलन सुरु गरेको २६ औं दिनमा आइतबार झडप भएको छ। यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो।

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि लाठी प्रहार गर्नुका साथै पानीको फोहोर हानेको थियो। प्रहरीको तर्फबाट बल प्रयोग भएपछि शिक्षकहरू प्रतिकारमा उत्रिएका हुन्। उनीहरूले सडक छेउछाउ भएका ढुंगा प्रहरीमाथि प्रहार गरेका थिए।

झडपमा बढी चोट लागेका शिक्षकहरूलाई उपचारका लागि सिभिल हस्पिटल लैजान भनिएको छ भने सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलनस्थलमै उपचार भइरहेको छ।

उता,प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ। आन्दोलन अशान्त बनेपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो।

आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाइएको छ।बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्