काश्मिरमा भएको आतङ्ककारी हमलामा मारिएका सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने



काठमाडौँ,१० बैशाख। काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव आजै ल्याइने व्यवस्था भएको हो । हिजो कश्मिरमा आतंककारीहरुको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरु रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको हो । आक्रमणमा परेर रिमकला घाइते हुनुहुन्छ ।

मन्त्री डा राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा शंकर शर्मासँग आज बिहानै कुराकानी गरी यस विषयमा समन्वय गर्न निर्देशन दिनुभएको थियो । मन्त्री डा राणा र राजदूत डा शर्माले भारतीय विदेश मन्त्रालयसँग यस विषयमा समन्वय गर्नुभएको थियो ।
घटनास्थलमा रहेका सुदीपका आफन्तहरुले त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले आज नै घर फर्किने व्यवस्थाका लागि अनुरोध गरेपछि परराष्ट्र मन्त्रालयले त्यसका लागि समन्वय गरेको हो । सुदीप वुटवल–११, कालिकानगर रुपन्देही निवासी हुन् । हिजोको सो आतंककारी हमालाको नेपाल सरकारले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्