नेपाली काँग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या छैन : गृहमन्त्री लेखक



पाेखरा ६ वैशाख । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली काँग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा उहाँले दल एवम् सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पार्नुभयो । सरकार सहमतिका साथ नै अघि बढीरहेको भन्दै उहाँले भन्नुुभयो, “साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ ।”

पछिल्ला समयमा संविधानका साथै संघीय लोकतान्त्रि गणतन्त्र विरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उहाँले संविधान विरोधी एवम् लोकतन्त्र विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पार्नुभयो ।

लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चार माध्यम माथि हुने गरेको हामीले विगतमा भोगिसकेको उल्लेख गर्नुभयो । अघिल्लो पुस्तका साथै बर्तमान पुस्ताको अथक प्रयासबाट बर्तमान संविधान बनेको उल्लेख गर्दै उहाँले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।

नेपालमा सात दशकको अन्तरालमा सातवटा संविधान बन्नुले अस्थिरतालाई देखाउने बताउँदै उहाँले बर्तमान संविधानलाई पनि अन्त्य गरी मुलुकलाई पुन अँध्यारोतर्फ धकेल्न नदिइने उल्लेख गर्नुभयो ।

लोकतन्त्रमा कमीकमजोरीलाई पनि सुधार गर्दै जान सकिने बताउँदै उहाँले यसमा नागरिक सर्वोपरि हुने स्पष्ट पार्नुभयो ।

संविधान विरोधी गतिविधिका माध्यमबाट अराजकता,वितण्डा मच्चाउन खोज्ने प्रबृत्तिलाई राजनीतिक रुपमा जवाफ दिनुका साथै कानुन बमोजिम पनि अघि बढीने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्