गभर्नरमा गुणाकर भट्टलाई रोक्न माग गर्दै सर्वोच्चमा पूरक निवेदन



काठमाडौं,५ बैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने भन्दै चर्चामा रहेकमा डा. गुणाकर भट्टको योग्यतामा प्रश्न उठाउँदै पूरक निवेदन परेको छ ।

यसअघि नै गभर्नरका लागि उमेर हद नलाग्ने गरी सरकारले गरेको मापदण्ड संशोधनविरुद्धको रिटकर्ता अधिवक्ता विकास थापाले डा. भट्टको योग्यतामा प्रश्न उठाउँदै पूरक निवेदन दिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

यसअघि यही वैशाख २ गते उक्त रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरी तत्काल उमेर हद लागु नहुने गरी बनाएको मापदण्ड लागु नगर्न आदेश जारी गरेको थियो । अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले गरेको छ ।

सर्वोच्चको उक्त आदेशपछि उमेर हदको प्रश्न नउठ्ने गरी राष्ट्र बैंकभित्रै कार्यरतबाट गभर्नर नियुक्ति हुने चर्चा चलेको थियो । त्यस्तो चर्चामा रहेका राष्ट्र बैकका कार्यकारी निर्देशक डा. भट्टले राजीनामा दिएसँगै सरकारको निर्णयविनै रिटकर्ताले भट्टको योग्यतामा प्रश्न उठाएर पूरक निवेदन दिएका हुन् ।

अघिल्लो रिटसँग सम्बन्धित रहेको विषयमा नयाँ निर्णय भएमा अवैध घोषित गरी बदर गर्न माग राखेर पूरक निवेदन परेको हो ।

भट्टले गभर्नर बन्नकै लागि शुक्रबार पदबाट राजीनामा दिएका थिए।तर उनको राजीनामा स्वीकृत भएको छैन।

प्रतिक्रिया दिनुहोस्