आफुहरुका मागप्रति राज्य अझै अनुदार रहेको महासंघको आरोप,आन्दोलन निर्णायक मोडमा पुगेको प्रतिक्रिया



काठमाडौं । नेपाल शिक्षक महासंघले आफूहरूले उठाएका मागप्रति राज्य अझै अनुदार रहेको आरोप लगाएको छ।

आन्दोलन रोकेर कार्यक्षेत्रमा फर्कन सरकारले आग्रह गरेको भोलिपल्ट अर्थात आज बिहान सामाजिक सञ्जालमा लेखेर महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले त्यस्तो आरोप लगाएका हुन्।आन्दोलन निर्णायक मोडमा आइपुगेको उल्लेख गर्दै उनले नियमित झैँ मध्याह्न १२ बजे माइतीघर मण्डलामा आइपुग्न शिक्षकहरूलाई आग्रह गरेका छन्।

उनले आन्दोलन अझ सशक्त बनाउन दशभरका शिक्षकलाई आह्वान गरेका छन्। अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचार प्रति सचेत रहनसमेत शिक्षकहरूलाई आग्रह गरेका छन्।

देशभरका शिक्षक १५ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन्। उनीहरूले एसईईको उत्तरपुस्तिका जाँच र कक्षा १२ को परीक्षासमेत बहिस्कार गरेका छन्।

यसअघि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकलेविद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन छाडेर विद्यालय फर्किन शिक्षकहरूसँग आग्रह गरेको थियो।

संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्ने समेतका प्रयोजनका लागि समेत अधिवेशन आह्वान गर्न सिफारिस गरेको सरकारले बताएको छ।

प्रतिक्रिया दिनुहोस्