जनप्रतिनिधि लगायत सार्वजनिक पदमा रहेका ब्यक्तिले बालबालिकालाई सार्बजनिक विद्यालयमा भर्ना नगरे सुबिधा कटौती हुने
धनगढी,२ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले जनप्रतिनिधिलगायत सार्वजनिक पदमा रहेका व्यक्तिले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा सुविधा कटौती गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको हालै बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधिले आफ्नो एवं आफ्नो संरक्षणमा रहेका बालबालिका सामुदायिक विद्यालयमा भर्ना नगरेको पाइए सेवा सुविधा कटौती गरिनुका साथै नगरपालिकाका अन्य प्रक्रियामा सहभागी नगराउने तथा विद्यालयका शिक्षक र कर्मचारीले आफ्नो वा एकाघरका बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरेको पाइएमा प्राप्त गर्ने सेवा सुविधा रोक्का गर्ने निर्णय गरेको हो।
निर्णय कार्यान्वयनका लागि सेवा सुविधा रोक्ने, कटौती गर्ने जानकारीसहितको पत्र विद्यालयसहित सम्बन्धित व्यक्तिलाई पठाइएको नगरप्रमुख हेमराज ओझाले बताए। उनले सबै विद्यार्थी संगठन र सराेकारवालासँगकाे छलफलपछि याे निर्णय गरिएकाे बताए।

