मुलुकको सम्पूर्ण संरचनामा हेरफेरको आवश्यकता छ : पूर्बराजा ज्ञानेन्द्र



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको सम्पूर्ण संरचनामा हेरफेरको आवश्यकता औँल्याउँनु भएको छ।

नयाँ वर्ष २०८२ को अवसरमा आईतवार भिडियो सन्देश जारी गर्दै पूर्बराजा शाहले सो कुरा बताउनुभएको हो।जनभावना र चाहना बुझी मुलुकको सम्पूर्ण संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने बताउंदै वहाँले शिक्षा, स्वास्थ्य, दैनिक कामकाजका प्रणालीमा आमूल सुधार र आधुनिकीकरण अनिवार्य भएको उल्लेख गर्नुभएको छ। सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्ने वहाँको भनाई छ।

युवाश्रमलाई देशमा नै राख्ने र आयआर्जन गर्ने वातावरण तयार गर्नुपर्ने पहिलो आवश्यकता रहेको भन्दै पूर्वराजाले भन्नुभएको छ, “स्वदेश फर्क, स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनुपर्ने आजको आवश्यकता हो।वहाँले नागरिक पलायनसँगै पुँजी पलायन भएको पनि बताउनुभयो । भ्रष्टाचार र बेथिति देशले थाम्नै नसक्ने गरी झाँगिएको पूर्बराजाको भनाई छ ।

“मुलुकको गिर्दो अर्थव्यवस्था,रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा र असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो,” शाहले भन्नुभएको छ,“हामी अस्थिरता,अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौँ । त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता हुनेछ,”

जनस्तरमा बढेको निराशा र असन्तुष्टि चिन्ताको विषय बनेको बताउँदै वहाँले आउँदो वर्ष सुनौलो र सम्झनयोग्य बन्ने विश्वास समेत व्यक्त गर्नुभएको छ।

नागरिक स्वतन्त्रता भन्दा अर्को वाद नरहेको भन्दै पूर्बराजा शाहले नेपाली–नेपालीबीच हिंसाको मनस्थिति नबनोस, कुनै पनि निहुँमा ध्रुवीकृत नहोस् भन्नेमा सचेत रहेको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्