बीरगञ्जमा लम्बियो कर्फ्यु, सामाजिक सद्भाव कायम राख्न सर्बदलीय बैठकको आग्रह



काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२ बजेसम्म थप गरेको छ ।

दुई समुदायबीच झडप भएपछि शनिबार साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो । स्थिति अझै सामान्य नबनेको निष्कर्षसहित प्रशासनले आज चैत ३१ गते राति १२ बजेसम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।

पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । ‘आज राति १२ बजेसम्म निरन्तरता दिएका छौं, त्यसपछिको वस्तुस्थिति विश्लेषण गरेर थप निर्णय लिने छौं,’ उनले भने ।

यसैबीच,हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राका क्रममा भएको विवादलाई समाधान गर्नका लागि आइतबार बिहान बीरगञ्जमा बसेको सर्वदलीय बैठकले शान्तिसुरक्षा र अमनचयनमा खलल पुग्ने गतिविधि नगर्न र सामाजिक सद्भाव कायम गर्न सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा भएको सर्वदलीय बैठकले स्थानीय सङ्घसंस्था र समुदायलाई र्‍याली, बन्दलगायत गतिविधि नगर्न अनुरोध गर्दै सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध पनि गरेको छ।

बैठकले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको गरिमालाई आत्मसात् गर्दै सबै धर्म एवं सम्प्रदायसँग सम्बद्ध सङ्घसंस्था विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवद्र्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडि बढ्ने हाम्रो राष्ट्रको मर्मअनुसार अघि बढ्न अनुरोध गरेको संयोजक अर्यालले बताए।

बैठकले घाइते भएका सुरक्षाकर्मी, सञ्चारकर्मी, आमनागरिकको स्वास्थ्यलाभको कामना गर्दै साथै घाइतेहरुको उपचार राज्यले गर्नुपर्ने निर्णय गरेको छ। file foto

प्रतिक्रिया दिनुहोस्