नेपाल बार एसोसिएसनमा आयो मिश्रको प्यानलै
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा प्राडा विजयप्रसाद मिश्रको प्यानल निर्वाचित भएको छ ।

कांग्रेसनिकट डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्षसहित १२, नेकपा एमालेनिकट प्रगतिशील व्यवसायिक लयर्स एसोसिएसन पीपीएलएका महासचिवसहित १२ र राप्रपानिकट कानुन व्यवसायीहरूका तर्फबाट बनेका एक उमेदवार विजयी भएका हुन् ।
अध्यक्षमा मिश्रले प्रतिद्वन्द्वी नेकपा माओवादी निकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरेका छन्।
यस्तै महासचिवमा मिश्र प्यानलकै केदारप्रसाद कोइराला श्रेष्ठ प्यानलका राष्ट्रिय स्वतन्त्र पार्टीनिकट कानुन व्यवसायी यज्ञमणि न्यौपानेलाई पराजित गर्दै निर्वाचित भएका छन् ।
मिश्र प्यानलबाट उपाध्यक्षहरूमा कोशीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा, महिला उपाध्यक्षबाट सरस्वती श्रेष्ठ विजयी भए ।
निर्वाचन समितिका अनुसार शनिबार सम्पन्न निर्वाचनमा ७ हजार ९९५ मत खसेको थियो ।

