भक्तपुरको दत्तात्रेयबाट प्रसिद्ध ‘बिस्का जात्रा’ विधिवत् शुरु



काठमाडौं । भक्तपुरको प्रसिद्ध ‘बिस्का जात्रा’ विधिवत् शुरु भएको छ। नगरवासीले बिहीबार बिहानै दत्तात्रेयबाट जात्राको विधि शुरु गरेका हुन्।

पहिलो दिन चैत २८ गतेपाँचतले मन्दिर टौमढी अगाडि भैरवनाथको रथ दिउँसो तान्ने चलन छ। प्यागोडा शैलीमा बनाइएको तीनतले काठको ३० फिट अग्लो भैरवनाथको रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ। जात्राको पहिलो दिन नेपाल भाषामा ‘द्यो क्वह विज्याइज्यू’ अर्थात् देवता रथ तल सवारी हुने मान्यता छ।

जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ। जात्राको चौथो दिन ल्योसिङख्यो भन्ने स्थानमा तान्त्रिक रूपमा ५५ हाते लिङ्गो उभ्याएर वीरध्वज र विश्वध्वज झुण्डयाउने परम्परा छ।

भैरवनाथको रथ तानेर शुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँचतले मन्दिर अगाडि नै रहेको भैरवनाथको रथ तानेर सम्पन्न हुन्छ। तान्त्रिकपूजा गरेर तलेजुमा दुमाजु, बाराहीको तिंप्वा जात्रा र खौमाको इन्द्रयाणी देवीको जात्रा समेत गर्ने परम्परा छ।

यो जात्रा पूर्वमध्यकालतिर ३०० वर्षभन्दा बढी राष्ट्रिय पर्वकै रूपमा रहेको संस्कृतिविद् डा.पुरुषोतमलोचन श्रेष्ठले बताए। उनका अनुसार वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि यो जात्रा यहाँ मात्र सीमित रहेको उनको भनाइ छ। यद्यपि भक्तपुरकै मध्यपुर थिमी र काठमाडौंको टोखामा समेत यो जात्रा मनाइन्छ।

‘नागनागिनी मरे’ भन्ने भावका आधारमा लिच्छविकालदेखि यो जात्रा मनाउँदै आएको बताइन्छ। लिंगोमा फहराइने ‘बि’ सर्प र ‘स्यात’ मारियो भन्ने अर्थमा बिस्क, बिस्का र बिस्केट आदिको नामले जात्रा मनाइने संस्कृतिविद् बताउँछन्।

यसैबीच जात्रालाई हर्षोल्लासमय रूपमा मनाउन गुठी संस्थान र भक्तपुर नगरपालिकाले सबैमा अनुरोध गरेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले पनि सभ्यरूपमा जात्रा मनाउन आग्रह गरे। file foto

प्रतिक्रिया दिनुहोस्