कोरियाली बुद्ध जयन्तीमा ‘लोटस ल्यान्टर्न फेस्टिभल’ हुँदै, नेपाली समुदायको पनि सहभागिता रहने
दावा जाङ्बु शेर्पा,काठमाडौं।दक्षिण कोरियाको बौद्ध संस्था जोगेजोङले दक्षिण कोरियाको राजधानी सोलमा २५६९ औं बुद्ध जयन्तीका अवसरमा लोटस ल्यान्टर्न फेस्टिभल विश्व शान्ति र्यालीको आयोजना गर्ने भएको छ।

अप्रिल २६ मा आयोजना हुने सो र्यालीमा Buddha Was Born in Nepal भन्ने प्ले कार्डसहित नेपाल बौद्ध परिवार दक्षिण कोरिया संयोजनमा नेपालको प्रतिनिधित्व हुने गरि नेपाली समुदायले सहभागिता जनाउने अध्यक्ष थुतुङ गेल्जी शेर्पाले जानकारी दिए।नेपाल बौद्ध परिवार दक्षिण कोरियाले बिगत देखि नै सो र्यालीमा सहभागिता जनाउदै आएको उनले बताए ।
उनले कोरियामा रहेको सम्पूर्ण नेपालीहरूलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो जातीय पोशाक तथा विभिन्न सांस्कृतिक झाँकीहरूसहित नेपाल बौद्ध परिवार दोङगुग युनिभर्सिटी दक्षिण कोरियामा उपस्थित भएर सहभागिता जनाउन आग्रह समेत गरेका छन् ।
सोलमा कोरिया भरका बौद्ध दर्शनसँग सम्बन्धित सङ्घ संस्था, नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्यान्ड, म्यानमारलगायत देशहरूबाट बर्सेनी ५ लाखभन्दा बढी मानिसहरू सहभागी हुने भएकाले यस महोत्सवलाई धार्मिक र संस्कृतिक रूपमा बढी महत्त्वपूर्ण मान्ने गरिएको छ ।
कोरियाली बुद्धजयन्तीलाई यहाँ ‘बुछनिम ओसिननाल’ भनिन्छ । यस दिन बुद्ध पृथ्वीमा आएको विश्वास गरिन्छ भने कोरियामा सार्वजनिक बिदा दिनुको साथै कोरियाको गुम्बा चैत्यहरूमा पूजा गरिन्छ ।

