निलम ढुङ्गानालाई कामु गभर्नरको जिम्मेवारी
काठमाडौं,२५ चैत । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी तोकेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
गभर्नर अवकाश भएपछि सरकारले वरिष्ठ डेपुटी गभर्नरलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने राष्ट्र ऐनमा व्यवस्था छ । कार्यवाहक अर्थ मन्त्रालयले तोक्ने वा मन्त्रिपरिषद्ले नै तोक्ने भन्ने ऐनमा प्रष्ट प्रावधान भने छैन । तथापि, उक्त ऐनमा टेकेर अर्थमन्त्रीले ढुङ्गानालाई कामु तोकेको अर्थमन्त्रालयले जनाएको छ ।
गभर्नर नियुक्ति सिफारिस गर्नका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको छ ।

