सोलुखुम्बुको सोताङमा बोलेरो दुर्घटना हुंँदा एक महिलाको मृत्युु



सोलुखुम्बु,२४ चैत।सोताङ गाउँपालिकामा भएको बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

वडा नं. २ बाट जुके भन्ने स्थान जाँदै गरेको प्र-३-०१-०२४ च ६८१४ नम्बरको बोलेरो जीप सडकबाट खस्दा उक्त गाडीमा सवार ३० वर्षीया सरिता राईको मृत्यु भएको हो।

शनिबार बेलुका समान बोकेर जुके पुगेको उक्त गाडी चिप्लिएर करिब ३ सय मिटर तल भीरमा झरेर दुर्घटना हुँदा सरिता र उनको १८ महिनाको बच्चा घाइते भएका थिए।

उनीहरूलाई उपचारका लागि सोताङ अस्पताल लैजाँदै गर्दा सरिताको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। १८ महिने बच्चा रेवन राईको भने उपचार भइरहेको छ। गाडीमा सवार अन्य २ यात्रु भने सकुशल रहेका छन्।

चालक ४३ वर्षीय प्रेम राई प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्