नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन सोलुखुम्बुमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन,अध्यक्षमा तोन्जे राई
सोलुखुम्बु,२२ चैत । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन सोलुखुम्बुको अध्यक्षमा तोन्जे राई निर्वाचित हुनुभएको छ । शुक्रबार सल्लेरीमा सम्पन्न सङ्गठनको दोस्रो जिल्ला अधिवेशनले राईलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

राईको अध्यक्षतामा ५१ सदस्यीय समिति चयन गरिएको नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार उपाध्यक्षमा निर कुमार दर्जी, महिला उपाध्यक्षमा गोमा कटुवाल,सचिवमा गोपाल बस्नेत, सहसचिवमा प्रभुराम कार्की र भत्तबहादुर कार्की,कोषाध्यक्षमा तिमाल राईलाई चयन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनका केन्द्रीय सचिव एवं कोशी प्रदेश कमिटी इन्चार्ज तीर्थराज घिमिरेले निर्वाचित कमिटीलाई शपथ ग्रहण गराउनुभयो।कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनका केन्द्रीय सचिव एवं कोशी प्रदेश कमिटी इन्चार्ज तीर्थराज घिमिरेले सैनिक तथा प्रहरी सङ्गठनको माग र आवश्यकतालाई सम्बोधन गर्ने पहिलो पार्टी नेकपा एमाले रहेको दाबी गर्नुभयो । वहाँले भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन हरेक दृष्टिकोणले परिपक्व र चौतर्फी ज्ञान र सीप भएको व्यत्तिहरुको सङ्गठन रहेको बताउँदै सङ्गठन विस्तारमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
संविधानसभा सदस्य यज्ञराज सुनुवारले नेकपा एमाले पार्टीले विभिन्न सुविधाहरू उपलब्ध गराएको बताउँदै गर्भदेखि स्वर्गसम्मको सारथि नेकपा एमाले रहेको बताउनुभयो । उहाँले भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन नेकपा एमालेको राष्ट्र निर्माण अभियानमा सबैभन्दा भरपर्दो शक्ति रहेको औँल्याउनुभयो ।
कोशी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री बुद्धिकुमार राजभण्डारीले भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन नेकपा एमालेको विश्वासिलो सङ्गठन रहेको बताउँदै नेकपा एमालेको मिसन ०८४ मा बहुमत ल्याएर जिताउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले पछिल्लो समय एमालेको शक्तिलाई कमजोर बनाउन सामाजिक सञ्जाल मार्फत विभिन्न आरोप लाग्ने गरेको बताउनुभयो । उहाँले नेकपा एमाले सबैभन्दा ठुलो राजनीतिक शक्ति रहेको बताउँदै अझै निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्पका साथ ३ महिने वडा केन्द्रित अभियान सञ्चालन भइरहेको बताउनुभयो ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन सोलुखुम्बुका इन्चार्ज नर बहादुर कटुवालले सङ्गठनप्रति पार्टीको विश्वास कायम राख्ने बताउँदै नेकपा एमालेको मिसन ०८४ मा बहुमत प्राप्त सरकार बनाउन योगदान रहने उल्लेख गर्नुभयो ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन सोलुखुम्बुका इन्चार्ज नर बहादुर कटुवालको अध्यक्षता एवं नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनका केन्द्रीय सचिव एवं कोशी प्रदेश कमिटी इन्चार्ज तीर्थराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ महाधिवेशन २०८२ साल वैशाख ४ र ५ गते काठमाडौँमा हुने जनाइएको छ ।

