पूर्बराजालाई बालेनको जरिवाना पत्र बालेनको सस्तो लोकप्रियताको दौडमात्रै : डा. लोहनी



काठमाडौं,१७ चैत । काठमाडौंका मेयर बालेन साहले तथ्य र कानुन बिर्सेर राजा ज्ञानेन्द्र शाहलाई सस्तो लोकप्रियताका लागि ‘जरिमाना भन्ने पत्र’ पठाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीब्र आलोचना गरेका छन् ।

कुन कानुन बमोजिम जरिमाना मागियो भन्दै लोहनीले बालेनसँग स्पष्ट जवाफ मागेका छन् । ‘बालेनजीले जनतालाई राम्रोसँग बताउनु पर्‍यो । अन्यथा यो पत्राचारलाई सस्तो लोकप्रियताको दौड मात्र रहेको बुझ्नुपर्ने भएको छ,’ लोहनीले आइतबार भने ।

कानुन बमोजिम स्वीकृती लिने र दिने पक्ष हुँदाहँुदै सबै तथ्य बिर्सेर बालेनले पत्र पठाएको भन्ने लोहनीले ठहर छ । नेपालको कुन कानुन र मान्यताले यस्तो काम गर्न दिन्छ ? लोहनीले प्रश्न गरे ।

‘म जस्ता धेरै काठमाडौंबासी बालेनका शुभचिन्तक छन्, आमनागरिक अहिलेसम्म तपाईँका हितैसी छन् । तर, अब हामीलाई जवाफ चाहियो,’ उनले भने ।

सामाजिक संजालमा लोहनीले भने, ‘चैत्र १५ गतेको राजनैतिक कार्यक्रममा दुई पक्ष थिए । एउटा कार्यक्रम गर्ने पक्ष र अर्को कार्यक्रम गर्न स्वीकृति दिने पक्ष अर्थात नेपाल सरकार । कार्यक्रम सुरु भएर मञ्चमा बोल्नु अगाडि नेपाल सरकारको तर्फबाट मकै पड्केको जस्तो गरी मञ्चमा अश्रुग्यास प्रहार भयो । म स्वयम बोल्ने प्रयास गर्दै थिए अश्रुग्यास प्रहारबाट आँखा नदेख्ने र स्वास फेर्न पनि गाह्रो अवस्थामा पुगेँ ।’

ठूलो भीडको बिचमा, आफंैले भाषण गर्न स्वीकृति दिएको सभामा, भाषण गर्ने मंचमा समेत अश्रुग्यास प्रहार गर्नु कुन नियम, कानुन र प्रोटोकलले जायज छ ? यसको दोषी को हो ? लोहनीको प्रश्न छ ।

उनको भनाइमा, ‘अश्रुग्यास प्रहारबाट भीड आक्रोशित भएर तितरबितर भयो । आफुले स्वीकृती दिएर स्वभावत भइरहेको भाषण र आमसभालाई नेपाल सरकार स्वयमले भाड्यो र आतंकको स्थिति सिर्जना गर्‍यो । यो तथ्यलाई बालेनजीले कसरी हेर्नु भएको छ ?’

लोहनीले भने, ‘यस पछिको आक्रोशित भीड र प्रहरीबीच द्वन्द्व र नोक्सान समेत भयो ।’

यी सब घटनामा बालेनको नजरमा राजा ज्ञानेन्द्र कसरी र किन जोडिन पुग्नुभयो ? राप्रपा नेता लोहनीले प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्